मकवानपुर गढी दरबार । तस्बिर अनिल पराजुली ।
मकवानपुर गढी दरबार । तस्बिर अनिल पराजुली ।

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडाबाट १६ किलोमिटर पूर्व कान्ति राजपथ सडकसँगै रहेको ऐतिहासिक, पुरातात्त्विक र सामरिक दृष्टिले महत्त्वपूर्ण मकवानपुर गढी दरबार पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । अध्ययन, अवलोकन, शैक्षिक भ्रमण र आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको हो ।

मकवानपुरसहित छिमेकी जिल्ला चितवन, काठमाडौँ, पोखरा, बारा, रौतहट, सिन्धुलीका अधिकांश क्षेत्रबाट यहाँ आन्तरिक पर्यटक भ्रमणमा आउने गरेका छन । ऐतिहासिक महत्वको मकवानपुर गढी दरबार पर्यापर्यटनको क्षेत्रमा पनि उत्कृष्ट रहेको छ । अग्लो भागमा अवस्थित गढी दरबार वरपरको मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई पनि मोहित पार्छ भने यहाँको महत्वले पुरातात्त्विक विशेषतालाई पनि झल्काउने गरेको छ ।

मकवानपुर गढी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष बखानसिंह पाख्रिनले सांसददेखि जनप्रतिनिधि र अध्ययन अवलोकन, शैक्षिक भ्रमण, सहकारीको भ्रमणका लागि यहाँ आन्तरिक पर्यटक आउने गरेको जानकारी दिए । प्रदेशको राजधानी नजिकै रहेको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले प्रदेशका प्रायः सबै जिल्लाका पर्यटक यहाँ आउने गरेको उनको भनाई छ । नयाँ वर्ष, कृष्ण जन्माष्टमी, फागु पूर्णिमा र एकादशी मेला पर्वको बेलामा दैनिक ७ हजार सम्म आन्तरिक पर्यटकले भ्रमण गर्ने गरेका हुन ।

पुरातात्त्विक विभागले दरबार किल्ला क्षेत्रको जीर्णद्वारा, छाना हाल्ले काम, मिनी म्युजियमको रूपमा विकास गर्ने लगायतको भित्री काम भइरहेको छ भने स्थानीय सरकारको समन्वयमा बाहिरी क्षेत्रमा फूलबारी बनाउने, भ¥याङ निर्माण गर्ने, वनभोज खाने ठाउँ बनाउने लगायतको कार्यभइरहेको उनले बताए । प्रदेश सरकार पनि मकवानपुर गढी दरबारको संरक्षणमा लागेको उनले बताए । समुद्री सतहदेखि १०१७ मिटर उचाइको पहाडी थुम्कोमा अवस्थित ऐतिहासिक, पुरातात्त्विक महत्त्व बोकेको ठाउँमा घुम्न र यहाँको विषय सबै नेपालीले थाहा पाउनुपर्ने बताउँदै उनले आन्तरिक तथा बाह्य पर्यटकलाई पनि यहाँ भ्रमण गर्न आग्रह गरे ।

मकवानपुर गढीको आफ्नै छुट्टै इतिहास छ । आधुनिक नेपालको स्थापना हुनु पूर्व सेन वंशीय शासनको ऐतिहासिक विरासतको जीवन्त इतिहास मकवानपुर गढीले बोकेको छ । परम्परागत तर उन्नत वास्तुकलाको प्रतिरूप मकवानपुर गढीले तत्कालीन समयको सामरिक महत्त्व तथा राज्यको सुरक्षात्मक उपाय झल्काएको छ ।

मकवानपुर गढीभित्र वंश गोपाल मन्दिर छ । मन्दिरभित्र कृष्णलाई फलामे साङ्लोले बाँधेर राखिएको छ । मन्दिरको केही तल एउटा गुफा छ । त्यही गुफाबाट कृष्ण ओहोरदोहोर गर्थे भन्ने यहाँका पुजारी डम्बरप्रसाद घिमिरेको भनाइ छ । त्यस समयमा चितवनमा तोरी खेती हुन्थ्यो । उहाँ त्यहाँसम्म पुगेर आउनुहुन्थ्यो । कृष्ण राति बाहिर जाने र बिहान मात्रै फर्कने गर्दा अनिष्ट आइपर्ला भनेर उहाँलाई गाउँलेले बाँधेर राखेको किम्बदन्ती रहेको पुजारीले जानकारी दिए ।

सेन वंशका राजाहरूले १३ औँ शताब्दीको सुरुतिर यहाँ शासन गरेको इतिहास पाइन्छ । सेन वंशका प्रतापी राजा मुकुन्द सेन कै नामबाट मुकुन्दपुर, माकन्दपुर, मुकुनपुरको अपभ्रंश हुँदै मकवानपुर नामकरण भएको हो भन्ने जनविश्वास छ । सेन वंशका लोहाङ्गसेनदेखि अन्तिम राजा दिग्बन्धन सेनसम्मका राजाहरूले करिब तीन सय वर्षसम्म मकवानपुर गढीलाई राजधानी बनाई राज्य गरेका थिए ।

मकवानपुर गढी राजा तुला सेनको राज्य कालमा निर्माण गरिएको विश्वास गरिन्छ । गढीको तीन वटा भाग रहेका छन्, ठुलो गढी, सानो गढी र ढुङ्गे गढी । ठुलो गढीमा दुई–दुई वटा दरबार, मन्दिर तथा पानी ट्याङ्कीहरू रहेका छन् भने ठुलो गढीको दक्षिण–पश्चिममा करिब तीन सय मिटरको दूरीमा सानो गढी र करिब २ किमी उत्तर पूर्वमा ढुङ्गे गढी छन् । मकवानपुर गढीले एकीकरण अभियानलाई साकार पार्न तथा विदेशी सेनाहरूलाई धपाई देशलाई जोगाउन तथा नेपाललाई स्वाधीन राष्ट्रको रूपमा विश्व सामु उभ्याउन महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ ।

मकवानपुर जिल्लामा मकवानपुर गढी दरबार, ढुङ्गे गढी, बकैयामा अम्वास गढी, भिमफेदीमा चिसापानी गढी, थाहा नगरपालिकामा पालुङ गढी, टिष्टुङ गढी, चित्लाङ गढी र कोटथुम्की गढी रहेको मकवानपुर गढी पर्यटन विकास समन्वय समितिका अध्यक्ष केदार प्रसाद न्यौपानेले जानकारी दिए । उनले सबै गढीको खोज अनुसन्धान र पुरातात्त्विक महत्वको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन हुनुपर्नेमा जोड दिए ।

Visited 47 times, 1 visit(s) today