हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३० थान मोटरसाइकल हस्तान्तरण गरेको छ । प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बिहीबार आयोजित कार्यक्रममा प्रदेश प्रहरी प्रमुख अरुण पौडेललाई मोटरसाइकलको चाबी हस्तान्तरण गरेका हुन् ।

सुरक्षा व्यवस्था सुदृढीकरण, छिटोछरितो सेवा प्रवाह तथा प्रहरी परिचालनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ बागमती प्रदेश सरकारले ९७ लाख २० हजार रुपियाँ बराबरको दुई पाङ्ग्रे सवारी साधन खरिद गरेको हो । राष्ट्रिय बोलपत्र आह्वान गरी प्रचलित कानुन तथा स्वीकृत मापदण्ड बमोजिम खरिद गरिएका मोटरसाइकल १६० सिसी क्षमताका एफआई र एबिएस सिस्टमयुक्त छन् ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडाका प्रमुख सचिव बाबुराम अधिकारी, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम प्रहरी निरीक्षक चूडाकुमारी खड्काले सञ्चालन गरेकी थिइन् ।