हेटौँडा । सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताउन बाध्य साढे बाह्र हजार मानवको मानव सेवा आश्रमले उद्धार गरेको छ । आश्रमले १३ वर्षको अवधिमा १२ हजार ६३४ जना अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारीरिक तथा मानसिक रूपमा अति कमजोर मानवको उद्धार गरेको हो ।
आश्रमले पाँच हजार २६२ जनालाई पारिवारिक पुनर्मिलन गराइसकेको छ । जसमा दुई हजार ९३१ पुरुष र दुई हजार ३३३ महिला छन् । आश्रम स्थापनाकालदेखि हालसम्म आश्रितमध्ये एक हजार ६५४ जनाको मृत्यु भइसकेको छ । चार हजार २१४ जनाले स्वेच्छिक रूपमा आश्रम छाडेका छन् भने एक हजार ६० जना समुदायमा पुनस्र्थापित हुनु भएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । ७ प्रदेशका २१ जिल्लामा सञ्चालित २९ वटा सेवा केन्द्रहरूमा दुई हजार २० जनाले आश्रय लिइरहेका छन् ।
आश्रय लिइरहेका मध्ये मानसिक औषधि सेवनकर्ता एकहजार ३०७, टिभी र एचआइभीबाट संक्रमित औषधि सेवन गर्ने दीर्घ बिरामी २३ जना, सुगर प्रेसरका १२२ जना, आश्रममै उपचार भइरहेका दुईहजार २२०, अस्पतालबाट उपचार गरिएका ५६८ जना, सामान्य अशक्त २८७ र पूर्ण अशक्त एकसय जना रहेका छन् ।
आश्रमले भारतीय नागरिक पहिचान भएका आश्रितहश्रलाई घर परिवारको खोजी तथा व्यवस्थित पारिवारीक पुनर्मिलन गराउन आश्रम र श्रद्धा फाउण्डेशन बिच सम्झौँता गरेर कार्यान्वयन गरिरहेको मानव सेवा आश्रमले जनाएको छ । मुख्य कार्यालय हेटौँडामा रहेको आश्रमले देशभर रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरू तथा जोखिमपूर्ण अवस्थाका व्यक्तिहरूको उद्धार, संरक्षण, उपचार, पुनःस्थापना तथा मानवोचित व्यवस्थापनमा पहलकदमी र जिम्मेवारीका साथ सेवा प्रदान गर्दै आइरहेको अधिकारीको भनाई छ ।
कर्णाली र गण्डकीलाई ‘सडक मानव मुक्त’ प्रदेश घोषणा गरिसकेको जानकारी दिर्दै माघ महिनाभित्र लुम्बिनी प्रदेशलाई सडक मानवमुक्त प्रदेशका रुपमा घोषणा गर्ने तयारी भइरहेको अध्यक्ष अधिकारीले बताउनुभयो । मानवता प्रवद्धन महाअभियानमा लागि रहेको आश्रमले सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणका लागि निरन्तर अभियान संचालन गर्दै आएको उनको भनाइ छ ।












प्रतिक्रिया दिनुहोस्