हेटाैँडा । पूर्व पश्चिम राजमार्गको हेटौँडा–नारायणगढ सडक खण्डमा बुधवार भएकाे सवारी दुर्घटनामा एक जना घाइते भएका छन् ।

मनहरी बजारबाट हेटौँडा तर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २६५२ नम्बरको ट्रकले समान दिशामा यात्रारत बा.प्र. ०२–०६५ प १५५२ नम्बरको मोटरसाइकलमा सबार नेपाली सेनाको  भैरव गण सुनाचुरीमा कार्यरत प्युठ सुमन श्रेष्ठलाई हेटौँडा १९ नेवारपानीस्थित सडक खण्डमा ठक्कर दिएको हो । स्टेयरिङमा खराबी आएपछि अनियन्त्रित भएको ट्रकले श्रेष्ठले समान दिशामा हाँकिरहेको मोटरसाइकललाई  ठक्कर दिएको थियो ।

घटनापछि घाइतेलाई उद्धार गरी हेटौँडा ११ स्थित चुरेहिल सिएमसी अस्पताल लगिएको र थप उपचारका लागि हेलिकोप्टरमार्फत सेनाको छाउनीस्थित अस्पताल लगिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइतेको रिपोर्ट सामान्य भए पनि अझै होस नखुलेको प्रहरीले जनाएको छ । घटनापछि ट्रक चालक भक्तपुर नगरपालिका ४ का पूर्णगोपाल न्हुच्छे र ट्रकलाई इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरमा राखिएको छ ।