हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिकामा गाईपालनप्रति युवाको आकर्षण बढ्दै गएको छ । गाउँपालिकाले दुधको भुक्तानीको जिम्मा लिएसँगै गाईपालन गर्ने किसानको सङ्ख्या वृद्धि भएको हो । मनहरी–१ मकरीमा मात्रै दैनिक तीन हजार लिटरभन्दा बढी दुध सङ्कलन हुँदै आएको छ ।
यहाँबाट दुध बिक्री गरी मासिक ६८ लाख रुपियाँभन्दा बढी रकम भित्रिने गरेको छ । गाउँपालिकाले डेढ वर्षअघि दुग्ध उत्पादक सहकारीसँग सम्झौता गरी दुध खरिद सुरु गरेपछि किसानले समयमै भुक्तानी पाउन थालेका छन् । यसले युवाहरुलाई गाईपालनतर्फ आकर्षित गरेको हो ।
मकरी–१ का ३३ वर्षीय राममणि न्यौपानेले करिब आठ लाख रुपियाँ लगानीमा पाँच वटा होलिस्टेन गाई पालेर व्यवसाय सञ्चालन गरेका छन । उनले दैनिक ५० लिटर दुध बिक्री गरी मासिक एक लाख रुपियाँ आम्दानी गर्दै आएका छन भने सबै खर्च कटाएर करिब ५० हजार रुपियाँ बचत गर्न सफल भएका छन । आफैसँग रहेको बचत रकमबाट गाईपालन थालेका न्यौपानेले भविष्यमा २० वटा गाई पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छन ।
उनले १२ कठ्ठा क्षेत्रफलमा गाईका लागि कमैचरी र सुपर नेपियर जातको घाँस समेत लगाएका छन । गाईपालनसँगै उनले २३० बोट सुनकागती पनि लगाएका छन । बस्तुको मलको प्रयोग गरेर कागती लगाएका न्यौपानेले आगामी वर्षदेखि कागतीबाट पनि आम्दानी प्राप्त हुने विश्वास लिएका छन ।
त्यस्तै, रामकुमार खड्काले व्यावसायिक रुपमा गाईपालन गर्दै मासिक करिब दुई लाख ५० हजार रुपियाँ बराबरको दुध बिक्री गर्दै आएका छन । सबै खर्च कटाएर उहाँले करिब डेढ लाख रुपियाँ आम्दानी गरिरहेका छन। उनले आफ्नो फार्ममा एक जनालाई रोजगारीसमेत दिए।
साउदी अरब जान खोज्दा मेडिकलमा असफल भएपछि स्वदेशमै केही गर्ने उद्देश्यले रामकुमार उप्रेतीले गाईपालन सुरु गरेका छन । उनले पाँच लाख रुपैयाँ लगानीमा चार वटा गाई पालेर एक जनालाई रोजगारी दिए । त्यसैगरी, २३ वर्ष भारतमा सवारी चालकको रुपमा काम गरी कोरोना महामारीपछि स्वदेश फर्केका देवराज न्यौपानेले पनि गाईपालन व्यवसाय थालेका छन । उनको गोठमा हाल १३ वटा गाई छन् । दुध बिक्रीबाट उनले वार्षिक करिब १० लाख रुपियाँ आम्दानी गर्दै आएका छन ।
मकरीकै विशाल उप्रेतीले पनि साढे चार लाख रुपियाँ लगानीमा चार वटा गाई पालेका छन । दुई महिनाअघि मात्र व्यवसाय सुरु गरेका उनले प्रति गाई मासिक २० हजार रुपियाँभन्दा बढी नाफा लिन सफल भएका छन । पालिकाले मासिक रुपमा दुधको भुक्तानी दिनेभएपछि ड्राइभिङ पेशा छाडेर उनी गाउँ फर्केर गाई पालन गर्न थालेका हुन ।
हाल मनहरी गाउँपालिकामा दैनिक करिब १४ हजार लिटर दुध सङ्कलन हुँदै आएको छ । स्थानीय तहले दुध खरिद, समयमै भुक्तानी तथा अनुदान जस्ता कार्यक्रम ल्याएपछि मनहरीसहित बकैया र बागमती गाउँपालिकामा पनि गाईपालन व्यवसाय विस्तार हुँदै गएको छ ।












प्रतिक्रिया दिनुहोस्