हेटौँडा । मकवानपुरमा लोपोन्मुख सालक भेटिने क्रम बढेको छ । सामुदायिक वनको संरक्षण अभियान तथा सालकको सङ्ख्यामा वृद्धि भएसँगै आहाराको खोजीमा बस्ती र सडक क्षेत्रमा सालक देखिन थालेको डिभिजन वन कार्यालयले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिका–६, चौघडा बजारमा मङ्गलबार करिब चार किलोग्राम तौलको कालो सालक फेला परेपछि रानी सामुदायिक वन उपभोक्ता समूहले उद्धार गरी सुरक्षित रूपमा वनभित्र रहेको सालक संरक्षण केन्द्रमा छाडेको छ । वैशाखयता मात्र सात वटा सालक फेला परिसकेको छ ।

रानी सामुदायिक वन उपभोक्ता समूहले २०६२ सालदेखि सालक संरक्षण गर्दै आएको छ । समूहले सालकका लागि उपयुक्त वासस्थान व्यवस्थापन, धमिराको देवल संरक्षण, जनचेतनामूलक कार्यक्रम तथा विद्यालयस्तरसम्म संरक्षणसम्बन्धी अभियान सञ्चालन गर्दै आएको जनाएको छ । समूहले चौघडा बजार र पिस पार्कमा सालकको प्रतिमा निर्माण गर्नुका साथै वनक्षेत्रभित्र संरक्षणका लागि विशेष केजसमेत निर्माण गरेको छ । समूहका अनुसार वनक्षेत्रमा तीन दर्जनभन्दा बढी सालक रहेको अनुमान गरिएको छ ।

डिभिजन वन कार्यालयका अनुसार मकवानपुरका १५० भन्दा बढी सामुदायिक वनक्षेत्रमा सालक भेटिएका छन् । रानी र चुच्चेखोला सामुदायिक वनले विभिन्न स्थानबाट उद्धार गरिएका कालो र तामेसालकको संरक्षण गर्दै आएका छन् । गत आवमा चुच्चेखोला सामुदायिक वनमा २३ वटा कालो र दुई वटा तामेसालक उद्धार गरी संरक्षण गरिएको कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालय चितवनका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले खाना खोज्दै बस्ती र सडक क्षेत्रमा सालक आउने क्रम बढेको बताए । उनका अनुसार संरक्षणप्रति समुदायमा चेतना बढेकाले पहिले जस्तो सालक मारिने वा बेचबिखन हुने अवस्था कम भएको छ । बागमती प्रदेशका मकवानपुर, धादिङ, सिन्धुली तथा चितवनलगायत जिल्लामा सालक संरक्षणका गतिविधि सञ्चालन भइरहेका छन् । बागमती प्रदेशको सबै जिल्लामा सालक पाइन्छ ।

ग्रिन हुड नेपालका निर्देशक कुमार पौडेलले सालकबारे जनचेतना बढ्दै जाँदा उद्धार र संरक्षणका गतिविधि प्रभावकारी बनेको बताए । विश्वमा आठ प्रजातिका सालक पाइने भए पनि नेपालमा कालो (चाइनिज प्याङ्गोलिन) र तामे (इन्डियन प्याङ्गोलिन) गरी दुई प्रजाति पाइन्छन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले कालो सालकलाई अति सङ्कटापन्न तथा तामेसालकलाई सङ्कटापन्न सूचीमा राखेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार सालकको सिकार, ओसारपसार वा व्यापार गरेमा पाँच लाखदेखि १० लाख रुपियाँसम्म जरिबाना वा पाँचदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

कमिला र धमिरा खाएर बालीलाई हानि गर्ने किराको प्राकृतिक नियन्त्रण गर्ने भएकाले सालकलाई किसानको साथीका रूपमा चिनिन्छ । अवैध चोरीनिकासी, वासस्थानको विनाश, वनडढेलो, जलवायु परिवर्तन, विषादीको प्रयोग तथा आहाराको अभावका कारण यो जीव अझै जोखिममा रहेको वन कार्यालयले जनाएको छ ।