हेटाैँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६, हात्तीलेटस्थित धरान–चतरा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् ।शनिबार दिउँसो करिब १:५० बजे गौरीटारबाट चौघडा चोकतर्फ आउँदै गरेको प्रदेश २–०३–००९ प ७०२८ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण सडकको रेलिङमा ठोक्किएर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–६ निवासी अन्दाजी १७/१८ वर्षीय प्रतीक मानन्धर गम्भीर घाइते भएका थिए । उनको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । प्रहरी र ट्राफिकको टोलीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याए पनि उपचारकै क्रममा दिउँसो ३ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार हेटौँडा–६ का १७ वर्षीय अंकुर लामा घाइते भएका छन् । उनको दुवै हात र बायाँ खुट्टामा चोट लागेको छ । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय चौघडाको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।