हेटौँडा । अख्तियार अनुसन्धान दुरुपयोग आयोगको कार्यालय हेटौँडामा आर्थिक वर्ष २०८२/८३ मा २७७८ वटा उजुरी परेका छन् । त्यसमध्ये सबैभन्दा धेरै स्थानीय तहसम्बन्धी छन् ।
अख्तियार कार्याँलय हेटौँडाले बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सोमबार बुझाएको आव २०८२/०८३ को प्रतिवेदनमा हेटौँडा कार्यालयमा परेको उजुरीहरूमध्ये ४७.३० प्रतिशत उजुरी स्थानीय तहसम्बन्धी छन् । ती उजुरीहरूमध्ये ४७.३० प्रतिशत स्थानीय तहसम्बन्धी छन् । अख्तियार हेटौडा कार्यालयका प्रमुख पवनकुमार तिमिल्सेनाले प्रदेश प्रमुख देवकोटा समक्ष बुझाएको प्रतिवेदनमा आयोगको हेटौँडा कार्यालयमा अघिल्लो आवको जिम्मेवारी सरेर आएकोसमेत गरी २ हजार ७७८ उजुरी परेका थिए । ती उजुरीहरुमध्ये एक हजार ७६७ अर्थात ६४.७७ प्रतिशत उजुरी फर्स्यौट गरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा स्थानीय तहमा सबैभन्दा धेरै उजुरी परेको पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका रहेको छ । उक्त पालिकासम्बन्धी २४५ वटा उजुरी परेको थियो । त्यसपछि बाराको जितपुरसिमरा उपमहानगरपालिका सम्बन्धी १६९ वटा उजुरी परेको थियो भने वीरगन्ज महानगरपालिकासम्बन्धी १५२ वटा उजुरी परेको थियो । हेटौँडा उपमहानगरपालिका-१ मा कार्यालय रहेको अख्तियार अनुसन्धान दुरुपयोग आयोगले बागमती प्रदेशका ५ र मधेश प्रदेशका ३ गरी ८ वटा जिल्ला हेर्ने गर्छ । आयोगले हेर्ने जिल्लाहरू बागमती प्रदेशको मकवानपुर, चितवन, धादिङ, सिन्धुपाल्चोक, दोलखा जिल्ला रहेको छ भने मधेश प्रदेशको बारा,पर्सा र रौतहट रहेका छन् ।












प्रतिक्रिया दिनुहोस्