हेटौँडा  । हेटौँडा उपमहानगरपालिका–६, भुलभुलेस्थित भुलभुले टोल विकास संस्थाको अध्यक्षमा पुनः रिपुप्रसाद गौतम चयन भएका छन् ।

संस्थाको मङ्गलबार सम्पन्न २२औँ वार्षिक साधारणसभा तथा अधिवेशनले गौतमको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रूपा तिमल्सिना, सचिवमा रामबहादुर पौडेल र कोषाध्यक्षमा गोमा दुलाल चयन भए । त्यसैगरी, सदस्यमा चित्रप्रसाद गौतम, सुमित्रा उप्रेती, शान्ति अधिकारी र तारा गौतम चयन भए ।

नयाँ कार्यसमिति चयनका लागि टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष विष्णुप्रसाद ढुङ्गानाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । समितिको सदस्यमा टोल विकास संस्था वडा समन्वय समिति, हेटौँडा–६ का अध्यक्ष राजकुमार फुयाल र सञ्चारकर्मी भीमसेन पौडेल रहेका थिए ।

साधारणसभामा संस्थाका अध्यक्ष गौतमले संस्थागत प्रतिवेदन र सचिव रामबहादुर पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा नियमित बचतकर्तातर्फ भरतप्रसाद उप्रेती र पूर्णमाया पौडेल तथा उत्कृष्ट ऋणीतर्फ रूपादेवी तिमल्सिना, रुकु गौतम र रुकमाया थापालाई पुरस्कृत गरिएको थियो ।

हेटौँडा–६ का वडा सदस्य विजय पौडेलको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष विष्णुप्रसाद ढुङ्गाना, टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा–६ का अध्यक्ष राजकुमार फुयाल, सञ्चारकर्मी भीमसेन पौडेललगायतको आतिथ्यता रहेको थियो ।

संस्थामा ४६ घरधुरी आबद्ध रहेका छन् ।

भीमसेन पौडेल
थप जानकारी