हेटौंडा । निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो । त्यस्तै आयोगले मकवानपुरको स्थानीय तहमा पनि निर्वाचन अधिकृत तोकेको छ ।

आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । जसमा हेटौंडा उपमहानगरपालिकामा जिल्ला अदालत मकवानपुरका न्यायाधिश डिल्लीरत्न श्रेष्ठलाई निर्वाचन अधिकृत तोकिएको छ ।

त्यस्तै बाँकी रहेका स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरु र निजामती सेवाका उपसचिवहरु रहने गरी निर्वाचन अधिकृत तोकेको हो । जसमा थाहानगरपालिमा जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तिर्थराज भट्टराई, मकवानपुरगढी गाउँपालिकामा आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशका उपसचिव नारनप्रसाद पोखरेल, बकैया गाउँपालिकामा जिल्ला समन्वय समिति मकवानपुरका समन्वय अधिकारी आनन्दराज पोखरेललाई निर्वाचन अधिकृत तोकिएको छ ।

त्यस्तै, इन्द्रसरोवर गाउँपालिकामा गृह मन्त्रालयका उपसचिव मुरारी वस्ती, कैलाश गाउँपालिकामा सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता मुकुन्दहरी पौडेल, बागमती गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाका अधिकृत हरिप्रसाद उपाध्याय, भीमफेदी गाउँपालिकामा सामाजिक विकास मन्त्रालयका अधिकृत रुद्रहरी भण्डारी, मनहरी गाउँपालिकामा शिक्षा विकास निर्देशनालय मकवानपुरका अधिकृत पुर्णबहादुर दर्जी र राक्सिराङ गाउँपालिकामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका उपसचिव सागर मिश्रलाई तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आगामी चैत मसान्तदेखि बैशाख २ गतेभित्र यी सबै निर्वाचन अधिकृतलाई अभिमुखीकरण तालिम पनि दिने भएको छ । स्थानीय तह निर्वाचन आगामी बैशाख ३० गते हुँदै छ ।
साभार खबर ब्रेक