हेटौंडा । मकवानपुर जिल्ला सहित देशैभर डेंगु संक्रमण बढ्दै गएपछि हेटौंडाका स्वतन्त्र युवा डेंगु नियन्त्रण अभियानमा सक्रिय भएर लागेका छन् । हेटौडा उपमहानगरपालिका क्षेत्रमा डेंगु संक्रमण बढ्दै गए पछि उपमहानगरपालिकाले सुरु गरेको नियन्त्रण अभियानमा स्वतन्त्र युवाहरुले सक्रिय सहभागिता जनाएका हुन् ।
स्वास्थ्य कार्यालय मकवानपुरको समन्वयमा उपमहानगरले शनिबार डेंगु नियन्त्रण अभियान सुरु गरेको हो । नगरमा डेंगु रोग फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको हेटौडा उपमहानगरपालिकाले जनाएको छ । गत साउन महिनादेखि अहिलेसम्म मकवानपुर जिल्लामा ५ सय ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । सबैभन्दा बढी संक्रमित जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ र ५ रहेका छन् ।
शनिवारबाट ४ दिन लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । डेंगु संक्रमण फैलाउने लामखुट्टेले सफा पानीमा फुल पार्ने तथा लार्भा बनाउने भएकोले सफा पानी जम्ने सवारी साधनका टायर, गमला, पानी जम्ने ठाउँ पहिचान गरी लामखुट्टे नष्ट गर्न स्प्रे गरिने तथा जनचेतना समेत फैलाउन सूचना प्रभाव गरिने छ । शनिबार हेटौडा ४ क्षेत्रका मोटर ग्यारेज तथा मोटरसाइकल मर्मत केन्द्रहरुमा रहेका प्रयोग नआउने टायरहरु नष्ट गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ मा सवारी साधन बनाउने ग्यारेजहरु धेरै रहेको तथा जनघनत्व समेत बढी भएको कारण यहाँ बढी संक्रमितहरु रहेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । डेंगुको कारण हालसम्म मकवानपुरमा कसैको पनि ज्यान नगएको तर अस्पताल र मेडिकलहरुमा डेंगु बिरामीको चाप बढेकोले उपचारमा समस्या हुँदै गएको उनले जानकारी दिए ।
डेंगु नियन्त्र अभियान कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा, उप मेयर राजेश बानिया, हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल, नगरपालिकाका कर्मचारी, स्वास्थ्य कार्यालयका कर्मचारी तथा हेटौंडाका स्वतन्त्र युवाहरुको सहभागिता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्