हेटौंडा । आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले पाँच दिन मदिराजन्य पदार्थको ओसारपसार, विक्री वितरण तथा सेवन पूर्णरूपमा रोक लगाईएको छ ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कडेलले बुधबार एक सुचना जारी गरी मंसिर १ गते राती १२ बजेदेखि मंसिर ५ गते दिउँसो १२ बजेसम्म जिल्लाभर मदिराजन्य पदार्थको ओसारपसार, विक्री वितरण तथा सेवन पूर्णरूपमा रोक लगाईएको जानकारी दिएका हुन् ।
मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्न उक्त निर्णय गरिएको सुचनामा उल्लेख छ ।
सुचना अनुसार चुनावको दिन विहान ५ बजेदेखि मंसिर ५ गते विहान ५ बजेसम्म तोकिएका अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारीसाधन बाहेक सम्पूर्ण निजी तथा सार्वजनिक यातायातका साधनहरू सञ्चालनमा रोक लगाईएको छ ।
त्यस्तै मतगणना हुने मतगणनास्थल हेटौंडा उपमहानगरपालिका सिद्धार्थ माविको ५०० मिटरको आसपासको क्षेत्रमा मतगणनाको कार्य सम्पन्न नहुँदासम्मको लागि मदिराजन्य पदार्थको ओसारपसार, विक्री वितरण तथा सेवन पूर्णरूपमा बन्द गर्ने, गराउने सुचनामा भनिएको छ ।
सूचना विपरितका कार्य, प्रचलित कानून तथा निर्वाचन आचारसंहिता विपरितका कार्य एवं निर्वाचन विरोधी कुनै किसिमका गतिविधि भएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्