हेटौँडा । हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ विस्तारका क्रममा हेटौँडाको चौघडा–मकवानपुरगढी सडकखण्डमा सडक सीमाभित्र बनाइएका संरचना हटाइने भएको छ । त्यस्ता संरचना हटाउन सकिएमा यो सडकको सुन्दरता बढ्नेछ ।

हेटौँडा उपमहानगरपालिका–६ र १७ को चुच्चेखोला सडकखण्डको सडक सीमाभित्र रहेका संरचना हटाएर सडक विस्तार गर्न लागिएको हो । हेटौँडा उपमहानगरपालिका–६ को कार्यालय र वडा नं. १७ को कार्यालयले छुट्टाछुट्टै सूचना जारी गर्दै सडकको दायाँबायाँ पर्ने सडक क्षेत्राधिकारभित्र बनाएका घरटहरालागयतका संरचना हटाई आफ्नो सामानको व्यवस्थापन गर्न भनेको छ । वडा नं. ६ को कार्यालयले कान्ति लोकपथको चुच्चेखोला सडकखण्डको सडक विस्तार गर्न सडक नापजाँच गरी सडकको भाग छुट्याएर किल्ला सीमा निर्धारण गरिसकेकाले सडकको क्षेत्राधिकारभित्र निर्माण भएका घरटहरा सातदिने सूचना जारी गरेको छ ।

हेटौँडा उपमहानगरपालिका–६ का कार्यवाहक वडाध्यक्ष विजय पौडेलले वडा नं. ६ को चुच्चेखोला सडकखण्डको सडक सीमाभित्र केही घरका पाली र टहरा पर्ने भएकाले घरधनीलाई हटाउन भनिएको बताए। उनले वडा नं. ६ मा सडकका दायाँबायाँ मूलतः ढल निर्माणसँगै सडक विस्तार रोकिएकामा अब स्थानीयसँगको सहमतिपछि सडक विस्तारले पूर्णता पाउने बताउनुभयो । वडा नं. १७ मा दुईवटा घर, एक जनाको कम्पाउन्ड पर्खाल र मन्दिर कान्ति लोकपथको सडक सीमाभित्र पर्ने भएको छ ।

वडा नं. १७ का वडाध्यक्ष उद्धव सत्यालले सडक सीमासम्बन्धी समस्या समाधान गर्न स्थानीय बासिन्दासँग सहमति भएकाले सडक विस्तार गर्न २१ दिने सूचना जारी गरिएको बताउँदै घरजग्गा धनीलाई धेरै क्षति नहुने गरी सडक विस्तार गरिने बताए। उनले सडकको मापदण्ड १५ मिटर चौडा भए पनि स्थानीयको घरजग्गा धेरै क्षति नहुने गरी स्थानअनुसार कम्तीमा १२ मिटर चौडा हुने गरी विस्तारको तयारी भएको जानकारी दिनुभयो । वडा कार्यालयहरूले तोकिएको समयसीमाभित्र सडकको क्षेत्राधिकारका घरटहरालगायत संचरना अटेर गरी नहटाएमा नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाइने जनाएका छन् ।

वि.सं. २०१३ मा नेपाली सेनाले खन्न सुरु गरेको ९६ किमि लम्बाइको कान्ति लोकपथले अझै पूर्णता पाएको छैन । २०१६ सालमा ट्र्याक खन्ने काम पूरा भएको यस मार्गको अझै करिब १० किमि सडक कालोपत्रे गर्न बाँकी रहेको छ । सडकखण्डको मकवानपुरतर्फको ४१ किमिमध्ये अधिकांश भागमा कालोपत्रे भइसकेको छ भने ललितपुरतर्फको भागमा कालोपत्रे हुन बाँकी हुँदा आवागमनमा समस्या हुँदै आएको छ । हिउँदको समयमा यस सडकबाट हेटौँडा–काठमाडौँ सवारीसाधन आवतजावत गरे पनि वर्षाको समयमा पहिरोको जोखिमका कारण सवारीसाधन चल्ने गरेका छैनन् ।

गोर्खापत्रबाट ।

Visited 28 times, 1 visit(s) today