मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, हा)

२०७९ साल मिथुन राशि भएका व्यक्तिहरूलाई यो वर्ष सामान्य नै रहनेछ । राहुको गोचरले राम्रो फल दिने र नयाँ कार्यको थालनी र जागिर पाइनेछ । रोकिएका वैदेशिक क्षेत्रका कामहरू सहजै अघि बढ्नेछ । शनिको अढैया दशा, केतु र बृहस्पतिको नकारात्मक प्रभावले झुटा आरोप, वादविवाद, डर र चिन्ता बढ्न सक्छ, स्वास्थ्य प्रतिकूल रहनसक्छ तर जन्म कुण्डलीमा बृहस्पति र शनिग्रह राम्रो पोजिसन रहेमा शुभ फल पाइनेछ ।

व्यापार/व्यवसाय
यो वर्ष मिथुन राशिका जातकहरूलाई व्यापार / व्यवसायबाट लाभ नै मिल्नेछ । नयाँ ठाउँमा लगानीको अवसर मिल्नेछ । प्राविधिक, फेन्सी तथा सजावटका क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । सेयर बजार अन्तर्गत वाणिज्य क्षेत्र बढी राम्रो रहला । यदि जन्म कुण्डलीमा शनि ग्रह स्वगृही, उच्च, मित्रगृही छ भने शनिको कृपाले निर्माण, धातु, मेसिनरी, इलेक्ट्रोनिक र टेक्नोलोजी क्षेत्रबाट शुभ फल मिल्नेछ । आर्थिक दृष्टिले वैशाख, भाद्र, र मंसिर महिना शुभ रहनेछ ।

प्रेम/सम्बन्ध
यसपालि नयाँ सम्बन्ध नजोडेकै राम्रो हुन्छ । प्रेम र मित्रताको बन्धमा दूरी बढ्न सक्छ, साथै पुरानो र नयाँ सम्बन्धमा मनमुटाव आउने र आफन्त पनि टाढिन्छन्, तर जन्मकुण्डलीमा सप्तम भावको पोजिसन राम्रो भएमा आफ्नो अनुकूलताको शुभ फल पाइनेछ ।

शिक्षा
अध्ययन र अध्यापनमा रूचि घट्नेछ । विद्या र बुद्धिको विकास नहुन सक्छ । विदेशिएका विद्यार्थीहरूले भने स्वदेश भन्दा बढी सफलता हासिल गर्नेछन् । आर्किटेक्चर, विज्ञान र स्वास्थ्य क्षेत्रका शिक्षार्थीहरूलाई बढी सफलता मिल्नेछ ।

पेशा/रोजगार
यो वर्ष नयाँ रोजगार पाइने र ठाउँ परिवर्तनको योग रहेको छ । सरकारी पद र ठूला सङ्घ संस्थामा आवद्ध पनि हुन सकिनेछ । वादविवादमा नपरेकै जति हुनेछ, अन्यथा दुख पाइने र अपजस खेप्नु पर्ला । आफ्नो पेशाबाट राम्रो फाइदा मिल्नेछ तर, विपक्षी भने बढ्न सक्नेछन् ।

स्वास्थ्य
मानसिक चिन्ता र समस्या बढ्न सक्छ । रक्त विकार र शीर्ष पीडाको भय पनि उत्तिकै रहनेछ । ग्यास्टिकको समस्या बढ्न सक्छ त्यसैले खानपिनमा विशेष ध्यान दिनु र व्यायाम गर्नु हितकर हुनेछ । मंसिर महिनाबाट स्वास्थ्यमा सुधार आउनेछ ।
शुभ रङ्ग
हरियो, निलो, खैरो र सेतो शुभ रङ्ग हो ।

शुभ अङ्क
१, ३, ६, र ८ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
मंगलबार विघ्नहर्ता गणेशजी र शनिवार हनुमानजीको व्रत, दर्शन तथा पूजा गर्ने, गरिब तथा अपाङ्गहरूलाई सहयोग गर्ने साथै शनि ग्रहको शान्ति, जप, पाठ, पूजा र हवन आदि गराउनाले ग्रह पीडा कम भई अधिक सफलता मिल्नेछ, तर सत्कर्म गर्नेहरूलाई नवग्रहको कृपा सदैव रहन्छ ।

साभारः हाम्रो पात्रो