तुला राशि (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएका व्यक्तिहरू का लागि २०७९ साल मिश्रित फलदायी वर्ष रहनेछ । बृहस्पति, शनि, राहु र केतुको प्रभावले वर्ष भरिनै त्यति राम्रो फल नमिल्ला र गरेको कार्यमा उल्झन र चोटपटकको भए पनि रहनेछ, तर भौतिक सुख भने मिल्नेछ । बृहस्पति, शनि, राहु र केतुको ग्रह शान्ति गर्दा भने शुभ फल मिल्नेछ । यदि जन्म कुण्डलीमा बृहस्पति र शनि उच्च, स्वगृह तथा मित्रगृह ग्रहहरू भए अधिक शुभ फल मिल्ने निश्चित छ ।

व्यापार/व्यवसाय
व्यापार वा व्यावसायिक दृष्टिले एस वर्ष नयाँ ठाउँमा लगानी नगरेकै जाती हुनेछ । सामूहिक रूपमा नयाँ व्यक्तिसँग व्यवसाय सुरु गर्न सकिनेछ । शेयर बजारमा गरेको लगानीले पनि सफलता दिलाउनेछ । मेसिनरी वस्तुमा गरेको लगानीले सफलता नमिल्न सक्छ । नगद सापटी लिनेहरू पनि टाडीन सक्छन् । व्यवसायीक दृष्टिले श्रावण, भाद्र र पुष महिना राम्रो हुनेछ ।

प्रेम/सम्बन्ध
दाम्पत्य जीवन तथा प्रेमी / प्रेमिकाका सम्बन्धमा सामान्य उतारचढाव आउनसक्छ । प्रेमी जोडीको सम्बन्धलाई विवाहमा परिणत गर्न पनि गाह्रो होला, तर जन्मकुण्डलीमा सप्तम भाव बलियो भएका व्यक्तिहरूलाई भने कुनैपनि सम्बन्ध नराम्रो हुँदैन ।

शिक्षा
यो वर्ष शैक्षिक क्षेत्रबाट त्यति राम्रो प्रतिफल नमिल्ला । मनमा चञ्चलता बढ्नाले पढाईमा ध्यान दिन नसकिएला । गणित र व्यवस्थापन विषयका विद्यार्थीहरू बढी कमजोर हुनसक्छन् । इन्जिनियरिङ् विषयका विद्यार्थीहरूलाई भने विशेष सफलता मिल्नेछ । भाद्र र फागुन महिनामा रोकिएको परीक्षा उत्तीर्ण गर्न भने सकिन्छ ।

पेशा/रोजगार
जागिरे हरूलाई अबजस आइलाग्न सक्छ । पेशा वा रोजगारमा दबाब र तनाव बढेको महसुस हुनेछ । सामाजिक तथा राजनैतिक क्षेत्रमा जनताले असमर्थता जनाउन सक्छन् । सामूहिक व्यवसायमा पनि खासै राम्रो हुनेछैन । वैदेशिक रोजगारमा लागेकालाई भने राम्रै हुनेछ ।

स्वास्थ्य
यो वर्षमा शरीरमा आलस्यता बढ्नेछ । घर परिवारको स्वास्थ्यमा धन खर्च हुनेछ । रक्त सञ्चारको समस्या पनि बढ्न सक्छ, अत: नियमित व्यायामको अभ्यासले शरीरलाई सन्तुलनमा राख्न सहयोग गर्नेछ ।

शुभ रङ्ग
सेतो, निलो, कालो र पहेँलो शुभ रङ्ग हो ।

शुभ अङ्क
३, ५, ६ र ८ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
प्रत्येक विहीवार लक्ष्मीनारायणको पूजा र उपासना गर्नाले ग्रह पीडा कम भई शुभ फल मिल्नेछ । बिहीवार कालो पहिरन नगरेकै राम्रो हुन्छ । बृहस्पति, शनि, राहु र केतुको ग्रह शान्ति गर्ने । आफ्नो जन्म दिनमा रोगीलाई साथ र सहयोग गर्नेहरूलाई भने ग्रह पीडा कम भई अधिक शुभ फल मिल्नेछ । प्रत्येक दिन आफ्नो इष्ट देवताको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

साभारः हाम्रो पात्रो