हेटौंडा । साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । गत बिहीबार र हिजाे आइतबार घटेकाे बजारले आज भने उकालाे यात्रा तय गरेकाे हाे ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.६९ अंकले बढेर २८५१.८६ विन्दुमा पुगेकाे छ । नेप्से ०.५५ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.०५ अंकले बढेर ५३५.३२ विन्दुमा पुगेकाे छ ।
कूल २२४ वटा कम्पनीकाे ९५ लाख १२ हजार ५ सय ८० कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २ करोड २० लाख १७ हजार एक सय ८१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे सेयर बढेको छ भने बाँकी ३ वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै लगानी समूह बढेकाे छ ।
साेमबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ४९ कराेड ३४ लाख ४९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
आज सर्वाधिक नाफा कमाउनेमा पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका लगानीकर्ता नै अगाडि छन् । बैंककाे सेयरमूल्य ८.४२ प्रतिशतले बढेर ४ सय १२ रूपैयाँ पुगेकाे छ ।
यस दिन बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीकाे सेयरमूल्य ४.५७ प्रतिशतले घटेर प्रतिकित्ता ६ सय ६८ रूपैयाँमा झरेकाे छ ।
प्रतिक्रिया दिनुहोस्