हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ । शुक्रबार आयोजित पालिकाको दशौं गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले प्रस्तुत गरेको आगामी आव २०७९/०८० को नीति तथा कार्यक्रममा कैलाशमा आगामी आवमा सुविधा सम्पन्न कैलाश अस्पताल सञ्चालनमा ल्याउनेदेखि चेली प्रोत्साहन कार्यक्रमलाई अघि बढाउने उल्लेख गरिएको छ ।

्गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा भएको गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा आगामी बर्षभित्र कम्तिमा २ वटा दुग्ध सहकारी स्थापना गरि दुग्ध संकलन तथा पशुपालन व्यवसायलाई प्रोत्साहन दिने जनाइएको छ । पशु रोग हटाऔं, पशु उत्पादन बढाऔं कार्यक्रममार्फत पशुमा लाग्ने खोरेत, पिपिआर र रेबिज रोग उन्मुलन गर्न निःशुल्क खोप अभियान संचालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

साहसिक पर्यटन, ट्रेकिङ रूट, सुविधासम्पन्न होमस्टे, स्थानीय संस्कृतिको सम्बर्द्धन र संरक्षण गर्न संग्राहलय निर्माण गरी पर्यटकीय गन्तव्यको निर्माण गर्ने लक्ष्य लिइएको छ । कैलाश बैकुण्ठ जोड्ने जिपलाइन तथा गुप्तेश्वरी गुफा धार्मिक क्षेत्रको डिपिआर निर्माण गरि संघ र प्रदेश सरकारमार्फत आवश्यक बजेटका लागि पहल गर्ने जनाइएको छ ।

चिकित्सा शिक्षा, इन्जिनियरिङ, सूचना प्रविधि, पाइलट लगायतका प्राविधिक शिक्षा पढ्न भर्ना भएका विद्यार्थीहरूलाई प्रोत्साहन छात्रबृत्ति प्रदान गरिने – एसईई दिई बसेका सम्पूर्ण विद्यार्थीहरूलाई पालिकाभित्र निःशुल्क आधारभूत कम्प्युटर तालिमको व्यवस्था, सिटिइभिटीबाट मान्यता प्राप्त प्राविधिक विद्यालयको स्थापना र संचालन गर्ने बताइएको छ । अति विपन्न मिर्गौला रोगीहरूका लागि निःशुल्क डायलासिस सुविधा दिइने तथा, न्यून आय भएका ५ सय घर परिवारलाई निःशुल्क स्वास्थ्य विमा गरिने पनि जनाइएको छ ।

गाउँपालिकाभरका टोल बस्तीहरूमा खानेपानीको प्रबन्ध गरिने उल्लेख छ । मुहानदेखि मुखसम्म सुरक्षित पानी स्वस्थ जिन्दगानी भन्ने अभियानलाई जनजनमा पुर्याइने पनि बताइएको छ । चुनिया नामटार हुँदै पालिकाको केन्द्रसम्म पुग्ने मूख्य सडकलाई स्तरोन्नति गरि बाह्रै महिना चल्ने गरी विकास गर्ने र आगामी ५ बर्षभित्रमा पक्की मोटरबाटो निर्माण गर्ने उद्देश्य लिइएको छ ।

गाउँसभामा विधायन समितिका संयोजक भुवनसिं घलानले आर्थिक विधेयक २०७९ र विनियोजन विधेयक २०७९ प्रस्तुत गरेका थिए । गाउँसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत रुपमा पारित भएको थियो ।

प्रदेश सञ्चारबाट