हेटौंडा । हेटौंडा उपमहानगर–४ का दुर्गाबहादुर बिष्ट सबेरै शैलुनमा भेटिन्छन्। राति अबेरसम्म पनि उनी कपाल काटिरहेका हुन्छन्। उनले हेटौंडामा शैलुन सञ्चालन गरेको २३ वर्ष भयो। ५२ वर्षीय बिष्टको कामप्रतिको जाँगर कत्ति घटेको छैन। उनको हँसिलो अनुहार र मिजासिलो व्यवहारले ग्राहक आकर्षित गर्छ। केही नयाँ कुरा सिक्न खोज्ने, सकेसम्म छिटो सेवा दिने उनको स्वभाव हो। यही कारण उनको शैलुनमा कपाल काट्नेको भीड लाग्छ।

स्नातक गरेका बिष्ट आम्दानीको गतिलो स्रोत मानेर कपाल काट्ने पेसा रोजे। यही पेसाले उनलाई फरक पहिचान दियो। २०५२ सालमा स्नातक गरेका बिष्ट कपाल काटेरै मासिक डेढ लाखसम्म आम्दानी गर्छन्। ‘कपाल काट्न थालेको वर्षौँ भयो। आफूले गरेको पेसाप्रति म सन्तुष्ट छु’, उनी भने, ‘आम्दानी पनि राम्रै छ। कर्मचारीहरूलाई तलब दिएर महिनाको १ डेढ लाखसम्म बचाउँछु।’

उनको शैलुनमा ३ जनालले रोजगारी पाएका छन्। स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा तथा प्रशासनिक क्षेत्रका उच्च पदस्थ अधिकारीहरू, बागमती प्रदेशका मन्त्री तथा कर्मचारीहरू उनकै शैलुनमा कपाल काट्न आउँछन्। डेरा लिएर शैलुन सुरु गरेका उनले अहिले आफ्नै ६ तलाको घर बनाएका छन्। आफ्नै घरमा व्यवसाय गरेका छन्। ‘शैलुनकै व्यवसायबाट यो घर बनाएँ। आफ्नै घरमा सरेँ। बैंक तथा वित्तीय संस्थाहरू, सिमेन्टका डिलरहरू पनि भाडामा बसेका छन्। अन्य पसल व्यवसायहरू पनि छन्। मासिक डेढ लाख जति घरमाडाबापत आम्दानी हुन्छ’, उनी भन्छन्, ‘सिप नै सबैभन्दा ठूलो सम्पत्ति रहेछ।’

‘बाध्यताले विदेश होमिँदा सिप सिकें’

२०२७ वैशाख १९ गते ताप्लेजुङमा जन्मिएका बिष्टको बाल्यकाल सामान्य रह्यो। उनले झापामा एसएलसीसम्मको अध्ययन पूरा गरे। भद्रपुर बहुमुखी क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातक गरे। अध्ययनकै क्रममा बिष्टले नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा पुगेर एक वर्ष शिक्षण पेसा अँगाले। उनी भूगोल, अंग्रेजी विषय अध्यापन गर्थेँ। ‘कपाल काट्न नजान्दा ढिलो हुन्थ्यो। धेरैपटक गाली खाइयो। धेरैपटक कटिङ बिगारेको पनि छु’, उनले भने, ‘ती दिनहरू संघर्षरत थिए। तर, दुःखले नै मानिसलाई परिपक्क बनाउने रहेछ।’

बिष्टले सिंगापुरमा कपाल काट्न सिकेका हुन्। पारिवारिक जिम्मेवारी बढ्दै गएपछि आर्थिक समस्या थपिँदै गयो। सत्ताइस वर्षअघि रोजगारको सिलसिलामा गएका उनलाई भाषाको ज्ञान नहुँदा होटलमा काम गर्न सकेनन्। साथीको सुझाव मानेर फुर्सदमा कपाल काट्न सिके। अहिले स्वदेशमै विदेशको कमाइ गरिरहेका छन्। ‘पाँचतारे होटलमा फोन उठाउने काम थियो। अंग्रेजी सामान्य जाने पनि अन्य भाषा नआउँदा काम गर्न समस्या भयो’, उनले भने, ‘१ लाख २५ हजार रुपैयाँ ऋण गरेर विदेश गएको, महिनौंसम्म पनि तलब नपाउँदा निकै समस्या भयो। गर कि मरको अवस्थामा साथीले भनेपछि कपाल काट्न सिकें। अहिले सन्तुष्ट छु।’

सिंगापुरमा २ वर्ष बसेपछि बिष्ट नेपाल फर्किए। त्यसलगत्तै उनी कतार, बंगलादेश र पाकिस्तानमा ६/६ महिनाको अवधि रहेर हेयर कटिङको काम गरे। ‘झण्डै ४ वर्षको अवधि परदेशमा बिताएँ। त्यसबेला सिकेको सिपले अहिले राम्रो आम्दानी भइरहेको छ’, उनले भने।

बिजुलीको पोलमा शैलुनको प्रचार

विदेशबाट फर्किएपछि स्वदेशमै केही गरौं भन्ने मनसायले बिष्टले हेटौंडामा शैलुन सुरु गरे। ‘काम गर्ने सिप भए पनि नयाँ ठाउँ, नयाँ परिवेश त्यतिबेला निकै कठीन परिस्थितिको सामना गर्नुपर्यो। ताप्लेजुङ जिल्लाको भनेर हामीलाई ढाँटेको हो कि भनेर भन्थें। डेरा नपाएर निकै समस्या झेलेको छु। हजाम पेसामा पहाडी समुदायका मान्छे त्यति हुँदैनथे। त्यसैले मलाई तिमीले साँच्चै कपाल काट्छौं त भनेर सोध्थे, क्षेत्री ब्राह्मण होइन ढाँट्यो कि भनेर शंका गर्थे’, उनले भने।

३ लाख रुपैयाँ लगानी गरेर बिष्टले २०५६ मा शैलुन खोलेका हुन्। उनी बिजुलीका पोलमा शैलुनको प्रचार गर्थे। प्रचार सामग्री बनाएर पोल–पोलमा टाँस्दै हिँड्थे। ‘केहीले पहाडी समुदायको मान्छेले गतिलो काट्दैन भन्थे। केहीले सहयोग गर्न खोज्थे’, उनी भन्छन्, ‘निरन्तर प्रयास गर्नुपर्ने रहेछ। सफलता मिल्ने रहेछ।’ उनीसँग ३ सय जनाभन्दा बढीले कपाल काट्ने सिप सिकेका छन्। ६ जना महिलाले काठमाडौंमा पार्लर व्यवसाय गरिरहेका छन्। १० जनाले हेटौंडामा आफैंले व्यवसाय सुरु गरेका छन्। उनीसँगै सिकेका ५० जनाभन्दा बढी अष्ट्रेलिया, क्यानडा अमेरिकालगायतका देशहरूमा हेयर कटिङ क्षेत्रमै छन्। केहीले विदेशमा नै आफ्नै पार्लर खोलेका छन्। ‘हालसम्म मसँग उनीहरू अधिकांश पेसामै आवद्ध छन्’, उनी भन्छन्, ‘गुरु पूर्णिमाको दिन सम्झेर विदेशबाट फोन गर्छन्। नेपाल आउँदा उपहार पनि ल्याइदिन्छन्।’

बिष्टले स्कीन फेड, बज, मुलेट, स्लोपलगायतका हेयर कटिङ गर्छन्। त्यस्तै, उनको शैलुनमा फेसवास, फेसियल, हाइलाइट, ब्लीच र कलर गर्न मानिस आउने गरेका छन्।

राजाको कपाल काट्न प्रस्ताव

बिष्टले लाखौँको कपाल काटिसकेका छन्। दैनिक १ सयदेखि डेढ सयको संख्यामा उनको शैलुनमा कपाल काट्न आउँछन्। हेटौंडा उपमहानगरका पूर्वमेयर हरिबोल महत, बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, पूर्वसामाजिक विकासमन्त्री युवराज दुलालदेखि हालका मन्त्रीहरू, कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलगायतका नेताहरू उनकै शैलुनमा कपाल काट्न पुग्छन्।

‘त्यतिबेलाको क्षेत्रीय प्रशासक रवीन्द्र चक्रवर्ती, प्रमुख जिल्ला अधिकारी मोदराज डोटेलको धेरैपटक कपाल काटेको छु’, उनले भने, ‘२०६२ मा क्षेत्रीय प्रशासक चक्रवर्तीले राजा ज्ञानेन्द्र हेटौंडा आउँदै हुनुहुन्छ। डेढ महिनासम्म बस्नुहुन्छ। उहाँको सेवा गर्नुपर्छ भनी प्रस्ताव गर्नुभएको थियो। तर, राजा आउनुभएन। उहाँको कपाल काट्ने अवसर जुरेन।’

७० वर्ष कटेकालाई निःशुल्क

बिष्टले व्यवसायसँगै सेवा पनि गरिरहेका छन्। उनले ७० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क कपाल काटिदिन्छन्। असहाय तथा विपन्न वर्गको मानिसलाई केही सहुलियत पनि दिन्छन्। उनी रोटरी क्लबमार्फत समाजिक क्षेत्रमा पनि सक्रिय छन्। वर्षको १ लाखभन्दा बढी सामाजिक सेवामा खर्च गर्छन्। हेटौंडा–८ कमानेस्थित रोटरी सिर्जना माविका दुई सय विपन्न बालबालिकाहरूको निःशुल्क कपाल काट्छन्। ‘हाल रोटरी क्लब अफ हेटौंडाको एडमिनिस्ट्रेसन चेयर पर्सनको जिम्मेवारीमा पनि छु। शिक्षा, स्वास्थ्य तथा ग्रामीण भेगमा सिँचाइ योजना पु¥याउने सन्दर्भमा पनि हामीले काम गरिरहेका छौं’, उनले भने।

राज्यले हेयर कटिङ सिपलाई सिकाउने अवधारणा अघि सारे युवा पुस्तालाई पनि आफ्नो सिप हस्तान्तरण गर्ने उनी बताउँछन्। ‘यो पेसामा अधिकांश भारतीय नागरिकहरू छन्। उनीहरू नेपालमा आएर मनग्य कमाइरहेका छन्। यता, नेपाली दाजुभाई दिदीबहिनीहरू भने वैदेशिक रोजगारीका लागि मातृभूमि छाड्न बाध्य छन्। उहाँहरूलाई सिप सिकाउन पाए स्वदेशमा नै रोजगारी हुने थियो’, उनले भने।

अन्नपूर्ण पोष्टबाट