हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा खाद्यान्न तर्फ कोदो खेतीमा बृद्धि भएको छ । पालिकाले किसानलाई उत्पादनमा प्रोत्साहन गर्न खाद्यान्न खरिद गर्न थालेपछि अहिले त्यहाँ कोदो खेती गर्ने क्रम बढ्दै गएको हो ।

रैथाने बालीको संरक्षण र प्रर्वद्धन गर्न गाउँपालिकाले गतवर्षदेखि कृषि विकास कार्यक्रम तर्फ खाद्यान्न खरिद बिक्री प्रोत्साहन अनुदान कार्यक्रम लागु गरेको हो । सोही कार्यक्रमपछि अहिले पालिकाभित्र तीन सय हेक्टर जमिनमा कोदो खेती हुन थालेको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए । उनका अनुसार पहिलेको तुलनामा २० हेक्टरले कोदो खेती बढेको हो । गाउँपालिकाले खाद्यान्न तर्फ धान,मकै, कोदो, गहुँ, फापरमा अनुदान दिदैं आइरहेको छ ।

गाउँपालिकाले किसानसंग उत्पादित कोदो खरिद बिक्री गर्न गत मंगलबार मात्रै ७ वटा कृषि सहकारीलाई समेटेको छ । जसमा विशेषत वडा नम्बर २ मा रहेको कुर्ले कृषि सहकारी संस्था, वडा नम्बर ३ मा रहेको धमिले कृषि सहकारी संस्था र ४ नम्बर वडामा रहेको अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थाले कृषकसंग कोदो खरिद गरिरहेको छ ।

अहिले अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थाले किसानसंग दैनिक कोदो खरिद गरिरहेको कृषि शाखा प्रमुख चौधरीले जानकारी दिए । उक्त सहकारीले गएको मंगलबारदेखि आजसम्म ५ टनभन्दा बढी कोदो खरिद गरिसकेको उनले बताए ।

सहकारीले बजार मूल्यभन्दा प्रति केजी थप २ रुपैयाँ र गाउँपालिकाले प्रोत्साहन अनुदानमा प्रतिकेजी थप २ रुपैयाँ उपलब्ध हुने व्यवस्था गरेको छ । सोही व्यवस्था बमोजिम किसानले कोदो बिक्री गर्दा प्रतिकेजी ५० रुपैयाँ पाउनेछन् । प्रोत्साहन अनुदान कार्यक्रमबाट बजारमूल्यभन्दा बढी मूल्य पाउने भएर पनि कोदो खेतीतर्फ विशेषगरी साना किसानहरु बढी आर्कषित भएको कृषि शाखा प्रमुख चौधरीको भनाई छ ।

गाउँपालिकाले खाद्यान्न खरिद बिक्री प्रोत्साहन अनुदान कार्यक्रमका लागि चालु आर्थिक बर्षमा पनि १० लाख बजेट बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले बताए । खाद्यान्न अनुदान कार्यक्रमले कृषि उत्पादन र उत्पादकत्व बढ्ने, कृषकलाई उत्पादन वृद्धि गर्न उत्प्रेरित गर्ने, कृषिमा व्यवसायिकरण हुने र किसानले उचित मूल्य पाउने गाउँपालिकाको लक्ष्य छ ।

 

साभारः कृषिपाटी

अनिरुद्रखबर संवाददाता
थप जानकारी