कपिलवस्तु । कपिलवस्तुका युवाले शिक्षण पेशा छाडेर कृषि उद्यम थालेका छन । पढेलेखेपछि हलोभन्दा कलम समात्नुपर्ने मान्यतालाई बदल्दै एक शिक्षकले कृषि फार्म खोलेका हुन् ।

कपिलवस्तु बाडगंगा नगरपालिका–४ को पिपरामा उनले कृषि फार्म खोलेका छन । ४० कठ्ठा जमिनमा फैलिएको कन्हैया कृषि फार्म एन्ड नर्सरी उनीहरुले ५ लाखको लगानीमा खोलेका हुन । अहिले उनको फर्ममा करोडौं लगानी पुगेको उनी बताउँछन । फार्ममा सिजन अनुसारका तरकारीहरु लगाइएको छ । फर्सी, लौका, विभिन्न जातका बोडी, साग, भिन्डी, काक्रा, गाजर लगायतका तरकारीहरु दुई दुई कठ्ठा छुट्याएर लगाइएको हो ।

फार्म सञ्चालनकालागि उनले जमिन भाडामा लिएका छन । जमिन बापत उनले वर्षको ७५ हजार भाडा तिर्ने गरेका छन । घर नजिकैको सन फ्लावर बोर्डिङ स्कूलमा पढाउँदै आएका भाष्कर पंगेनीले फार्म खोलेका हुन् । चार वर्षसम्म उनले स्कुलमा पढाए । शिक्षण पेशामा मन नरमाएपछि उनले स्कूल छाडेर फार्म खोले ।

शिक्षण पेशाबाट भएको कमाइले परिवारको खर्च जुटाउन पनि हम्मे हम्मे परेपछि उनी कृषि पेशामा लागेका हुन । २८ बर्षीय भाष्करले सबै परिवार मिलेर आधुनिक तरिकाले कृषि गर्न सके मनग्य आम्दानी गर्न सकिने बताए । तरकारीको पकेट क्षेत्रको रुपमा विकसित गर्न सकिने बताउँदै उनले तरकारी बिक्री गर्न स्थानीय बजार नै प्रशस्त रहेको बताए ।