हेटौँडा । नेपाल मुस्लिम इत्तेहाद संगठन मकवानपुरको आयोजनामा भएको प्रथम संस्करणको टी–१० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक पठान स्ट्राइकर क्रिकेट क्लब हेटौँडाले जितेको छ ।

हेटौँडा–४, हुप्रचौरमा शनिवार भएको फाइनल खेलमा चितवन जिल्लाको आरसीसी क्लबलाई तीन रनले पराजित गर्दै पठान स्ट्राइकर क्रिकेट क्लबले उपाधिमा कब्जा जमाएको हो ।

टस हारेर ब्याटिङ गरेको पठान स्ट्राइकर क्रिकेट क्लबले १० ओभरमा ५९ रनको लक्ष्य दिएकोमा चितवनको आरसीसी क्लबले १० ओभरमा ५६ रनमा समेटिएर उपविजेतामा चित्त बुझाउन परेको हो । प्रतियोगिताको प्लेयर्स अफ द सिरिज वि.के. सहनी घोषित भए ।

प्रतियोगिताको उपाधि विजेता पठान स्ट्राइकरले नगद एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आरसीसी क्लबले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र गरेको हो ।

प्रतियोगिताको विजेता, उपविजेता र प्लयर्स अफ द सिरिज लगायतका खेलाडीलाई बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, एमाले नेता रघुनाथ खुलाल, नेपाल मुस्लिम इत्तेहाद सङ्गठन बागमती प्रदेशका अध्यक्ष समिम खान, जिल्ला इन्चार्ज महमद सफिक, खेलकुद संयोजक मुस्तफा अन्सारी, सह संयोजक प्रमोद मानन्धर लगायतकाले पुरस्कार वितरण गरेका थिए । कार्यक्रम साहिल खानले संचालन गरेका थिए ।