हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा जिल्लास्तरीय अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

मकवानपुर क्रिकेट संघले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको छ । मकवानपुर क्रिकेट संघका पूर्वकप्तान स्वर्गीय निरज श्रेष्ठको स्मृतिमा आयोजना गरिएको प्रतियोगिता हेटौंडा–४ स्थित हुप्रचौरमा सञ्चालन हुनेछ ।

प्रतियोगिताबारे जानकारी दिनुहुँदै मकवानपुर क्रिकेट संघका कार्यवाहक सचिव विनोद कुमार बानियाँले प्रतियोगितामा सहभागिता जनाउन मंगलबारसम्म टिम दर्ताका लागि समय दिइएकोमा १२ टिमले सहभागिता जनाएको बताउनुभयो । प्रतियोगितामा सहभागिता जनाएका विद्यालय टिम हेटौंडा उपमहानगरपालिका भित्रकै रहेको बानियाँले बताए ।

प्रतियोगिता अन्तर्गत हरेक दिन दुई खेल सञ्चालन हुने जनाइएको छ । बिहान ९ बजे एक खेल र दिउँसो १ बजे एक खेल सञ्चालन हुनेछन् । लिग कम नकआउटका आधारमा खेलाइने खेलको मंसिर १ गते फाइनल हुनेछ । प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको लागि ३ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

मकवानपुर क्रिकेट संघका अध्यक्ष वासुलाल श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा क्रिकेट संघका केन्द्रीय सदस्य करण महत्रा क्षेत्री, प्रदेश क्रिकेट संघका उपाध्यक्ष प्रेम क्षेत्री र प्रतियोगिताका संयोजक धिरज श्रेष्ठको उपस्थिति रहेको थियो ।