हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा आयातित पत्रु खाना (जंक फुड) लाई निरुत्साहित गरिने भएको छ । कार्यपालिकाको बैठकले चिसो तथा पेयपदार्थहरुको प्रयोगमा न्यूनीकरण गर्दै पूर्ण रुपमा विस्थापित गरी स्थानीय रैथाने तथा मौलिक खाद्य पदार्थहरुको प्रयोगमा जोड दिने भएको हो ।

चिसो पेयपदार्थ, चाउचाउ लगायतका तयारी पत्रु खानाले स्वास्थ्यमा र आर्थिक रुपमा नोक्सान भएको भन्दै त्यस्तो खानेकुरा प्रयोगमा निरुत्साहित गर्दै जाने पालिकाले नीति लिएको छ । बजारमा पाइने चाउचाउ बिस्कुट, लेज, कुर्कुरे तथा चिसो पेयपदार्थमा चिल्लो पदार्थ कार्बोहाइड्रेट, खराब पोषणयुक्त चीज, ट्रान्सफ्याट, सोडियम, चिनी तथा अनेक किसिमको रसायन तथा कार्बनको प्रयोग अत्यधिक गरिएको हुन्छ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने–“जसको कारण पाचन प्रणालीमा समस्या आउने, कुपोषण देखापर्ने, विशेषगरी मोटोपन जस्ता समस्या देखापर्छ, जंक फुडलाई स्वादिलो, आकर्षक बनाउनका लागि त्यसमा केही किसिमको खाद्य पदार्थ र रंग मिश्रण गरिएको हुन्छ, जसले मानव स्वास्थ्य र आर्थिक दुवै पक्षमा नकारात्मक असर पर्छ ।”

चेपाङ वस्तीमा पाहुनाको स्वागत गर्न पहिले रक्सी दिने चलन थियो, अहिले पेय पदार्थ डियु पिउने प्रचलन बढ्यो, पालिका अध्यक्ष मल्लले भने,“बार्षिक रुपमा मृगौला सम्बन्धि समस्या भएर उपचार गराउन जानका लागि ९० जना भन्दा धेरै सिफारिस लिन आउनुहुन्छ,पेयपदार्थ अत्याधिक पिउदा मृगौला रोगी र कुपोषणा धेरै भयो, अव विस्तारै पालिकामा जंक फुड हटाउँदै लैजाने हो,” उनले थपे । “एक बर्ष उमेर समुहदेखि ७० बर्ष सम्मकालाई मृगौलाको समस्या देखिएको छ, पालिकामा पहिले एक÷दुई जना मृगौला पीडित सिफारिस लिन आउनुहुन्थ्यो, अहिले संख्या ह्वातै बढेको छ, पत्रु खानेकुरा विस्थापित गर्न वडाका प्रतिनिधि, अगुवा, सहकारी, क्लवका अध्यक्ष, विद्यालय र टोल सुधारका प्रतिनिधिहरुलाई यसबारे विज्ञ बोलाएर सचेतना फैलाउँदै लैजाने कार्यक्रम छ,” उनले भने । राक्सिराङमा अधिंकाश जग्गा भिरालो छ, यहाँ ९० प्रतिशत कोदो र मकै फल्छ, उनले भने– “रैथानेवाली संरक्षण गर्दै विद्यालयको दिवा खाजामा पनि यहीको उत्पादन खुवाउने तयारी गरेका छौं ।” पालिकाले एक बर्षभित्र पूर्णरुपमा जंक फुट निषेध गर्ने नीति लिईएको स्पष्ट पारेको छ ।

पालिकाले सार्वजनिक कार्यक्रममा अनावश्यक रुपमा खादा र ब्याचको प्रयोग गर्दा आर्थिक र वातावरणीय रुपमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले त्यस्तो कार्यलाई रोक लगाउने निर्णय भएको अध्यक्ष मल्लले जानकारी दिए । स्थानीय सामाग्रीबाट उत्पादन भएका मौलिक खादा र मालाको मात्रै प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यले आयातित खादा रोक लगाइएको उनले बताए ।

त्यस्तै पालिकाले सार्वजनिक संघसंस्था तथा कार्यालयको सय मिटर वरपर मदिरा तथा सूर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत सार्वजनिक संस्थाका कार्यालयको सय मिटर क्षेत्र वरपर गुट्खालगायत सूर्तिजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।

साथै १८ वर्षमुनिका बालबालिकाहरुलाई मदिरा तथा सूर्तिजन्य पदार्थ बिक्री नगर्न स्थानीय व्यवसायीलाई सचेत गराउने निर्णयसमेत गरिएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रभित्रको सार्वजनिक कार्यक्रममा खादा र ब्याच वितरणमा पनि रोक लगाएको छ । त्यस्तै पालिकाको भू–उपयोग नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न एक टोल एक उत्पादनको कार्यक्रमलाई वृहत्तररुपमा अगाडि बढाउनका लागि प्रत्येक वडामा रहेका बाँझो जमिनहरुको तथ्याङ्क संकलन गर्न सबै वडा कार्यालयलाई निर्देशन दिइएको छ ।

गाउँ कार्यपालिकाको बैठकले नगर प्रहरी नियुक्तिसम्बन्धी कार्यविधि पनि स्वीकृत गरेको छ । गाउँमा अब असईको नेतृत्वमा २ जना महिलासहित ७ जना प्रहरी नियुक्त हुनेछन् । ४० वर्ष नकटेका पूर्व सेना र प्रहरीलाई नगर प्रहरीमा भर्ति गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँ कार्यपालिकाको बैठकले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गराउन वार्षिक कार्ययोजनासमेत स्वीकृत गरेको छ । स्वीकृत कार्ययोजनाअनुसार राक्सिराङले चालु आर्थिक वर्षका योजना कार्यान्वयन गराउन आगामी मंसिर मसान्तसम्ममा सबै योजनाहरुको सम्झौता गरिसक्नेछ । साथै ४५ लाखसम्मका योजना उपभोक्तामार्फत र सोभन्दा माथिका योजनाको ठेक्का प्रक्रियाबाट काम गर्ने पनि कार्ययोजनामा उल्लेख गरिएको छ । ८ लाखसम्मको योजना वडा कार्यालयबाटै सम्झौता र कार्यान्वयन गर्नेगरी कार्ययोजना बनाइएको र आगामी चैत मसान्तभित्र गाउँपालिकाको सबै योजनाहरु सम्पन्न गरिसकिने गाउँपालिकाका अध्यक्ष मल्लले बताए ।

अनिल पराजुली
थप जानकारी