मकवानपुरगढी गाउँपालिका प्रदेश नं. ३ अन्तर्गत मकवानपुर जिल्लामा अवस्थित चुरे र पहाडी विशेषता बोकेको गाउँपालिका हो ।  साविक मकवानपुरगढी, बुढीचौर, सुकौरा तथा आमभञ्याङ गाविसहरु मिलेर बनेको यो गाउँपालिका १४८.७३ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । समुन्द्री सतहका करिब १३०४ मिटर सम्मको उचाईमा रहेको मकवानपुरगढी गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले २७ डिग्री २१ मिनेट ३९ सेकेण्ड देखि २७ डिग्री ३० मिनेट ४१ सेकेण्ड उत्तरी अक्षांश र ८५ डिग्री ०२ मिनेट ३७ सेकेण्ड देखि ८५ डिग्री १३ मिनेट ०८ सेकेण्ड पुर्वी देशान्तरमा फैलिएको छ । यस गाउँपालिका मकवानपुर जिल्लाको जिल्ला सदरमुकाम हेटौडासंग सिमाना जोडीएर पुर्व तथा उत्तर भागमा रहेको छ । साथै यस गाउँपालिकाको पूर्वमा बकैया गाउँपालिका, पश्चिम हेटौंडा उपमहानगरपालिका र भिमफेदी गाउँपालिका, उतरमा भिमफेदी गाउँपालिका दक्षिणमा हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकासँग सिमाना जोडिएको छ ।  जिल्लाको कुल क्षेत्रफलको ६.५२ प्रतिशत भुभाग ओगटने यस गाउँपालिकाको क्षेत्रफल १४८.७३ वर्ग किमी रहेको छ ।

क) ऐतिहासिक चिनारी तथा नामाकरण

नेपाल एकिकरणको अभियन्ता पृथ्वीनारायण शाहको ससुराली खलक रहेका मुकुन्द सेनको शासन सञ्चालन तथा दरबार रहेको मकवानपुरगढी नेपालको ऐतिहासिक महत्वको क्षेत्र हो । यहि गढी दरवार मकवानपुरगढीको नामले प्रचलित रहेको छ । नेपालको बाइसी र चौबिसी राज्यका समय मकवानपुरगढी राजनीतिक तथा सामरिक हिसावले अत्यन्त महत्व रहेको तथ्य बुझेका गोर्खाका राजा पृथ्वीनारायण शाहले मकवानपुरगढीका राजा मुकुन्द सेनको कान्छा छोराको छोरीसंग बिबाह गरेका थिए । यसरी यस भेगका बलिया राजासंग सामिप्यता राखी नेपाल एकिकरण गरेका थिए । त्यसकारणले पनि मकवानपुरगढी गाउँपालिका ऐतिहासिक, प्राकृतिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण क्षेत्र हो । नवगठित स्थानीय तह अन्तरगत साविक मकवानपुरगढी गाविससहित आमभञ्ज्याङ, सुकौरा र बुढीचौरलाई मिलाएर वि.सं. २०७३ मा मकवानपुरगढी गाउँपालिकाको गठन गरिएको हो ।

ख) राजनीतिक अवस्थिति

मकवानपुरगढी गाउँपालिका प्रदेश नं. ३ को मकवानपुर जिल्लामा अवस्थित रहेको छ । साविकका ४ गाविसहरु ( मकवानपुरगढी, आमभञ्ज्याङ, सुकौरा र बुढीचौर) समावेश गरी बनाइएको यस गाउँपालिकामा ८ वडाहरु रहेका छन् । मकवानपुर जिल्लामा विद्यमान १ उपमहानगरपालिका, १ नगरपालिका र ८ गाउँपालिकासमेत गरी १० स्थानीय तहमध्ये मकवानपुरगढी गाउँपालिका पनि एक हो । गाउँपालिकाको केन्द्र साविक मकवानपुरगढी गाविसको कार्यालय रहेको मक्रानचुलीमा रहेको छ । पुर्वत् मध्यमाञ्चल विकास क्षेत्रमा पर्ने नारायणी अञ्चलको मकवानपुर जिल्लामा रहेको यो गाउँपालिका प्रतिनिधि सभाको दुवै निर्वाचन पर्ने भए तापनि प्रदेश सभा निर्वाचनको १ (ख) तथा प्रदेश २ (ख) अन्तरगत पर्दछ ।

ग) धरातलीय अवस्था

चुरे तथा पहाडी जिल्ला अन्तरगत रहेको यस क्षेत्रमा धरातलिय स्वरुपका हिसाबले पहाडी तथा महाभारत श्रृखंलासंग जोडिएकोले अधिकांश जमिनको बनौट भिरालो प्रकृतिको छ भने सामरी नदि, भालुखोला, ज्यामिरे खोलालगायतका अन्य क्षेत्रमा पनि समथर जमिन पनि रहेको छ । चुरे पहाड तथा पहाडी भुभाग महाभारत श्रृंखलाले बनेको यस गाउँपालिकामा कडा खालको चट्टानी भुभाग, भीरपाखा, चुनखानी तथा वसोवासयोग्य क्षेत्र सहितको विविधतायुक्त धरातलिय अवस्थिति रहेको छ । यस क्षेत्रमा मुख्यतया आमभञ्ज्याङ र सुकौरालगायतका स्थानमा गरि करिब १०—१५ प्रतिशत समथर भुभाग रहेको छ  ।

घ) प्राकृतिक सम्पदा

गाउँपालिकाको कुल क्षेत्रफलको करिब ४०—४५ प्रतिशत क्षेत्रमा खेती गरिएको छ । वनक्षेत्रले ओगटेको क्षेत्र हेर्दा जंगल र झाडी गरि करिव ४०—४५ प्रतिशत, खहरे वा चरण क्षेत्र ५—७ प्रतिशत रहेको छ । गाउँपालिकालाई मुलप्रवाह क्षेत्र बनाएर अविरल बगिरहने सामरी, ज्यामिरे, भालुखोला मकवानपुरगढी नदि लगायतका सहायक नदि तथा खोलाहरु यहाँको मुख्य प्राकृतिक सम्पदाहरु हुन् । सिंचाइको मुख्य श्रोतको रुपमा रहेको सामरी, ज्यामिरे लगायत खोलाबाट यस क्षेत्रको तल्लो वेसी क्षेत्रको जमिनमा सिंचाइ सेवा उपलब्ध रहेको छ । जैविक विवधताका हिसावले कम पर्वतिय हावापानी तथा बढी उष्ण हावापानीमा पाइने जीव तथा वनस्पतिहरु पाइन्छ । यसका पहाडको माथिल्लो भागका अधिकांस स्थानमा वन रहेका छन् । यस गाउँपालिकाको उत्तरमा देखिने रमणिय हिमाली श्रृखलाहरुले यहाँको सुन्दरता बढाएको छ । बालुवा लगायतका खनिजहरु यस क्षेत्रमा पाइन्छ । गाउँपालिको जमिनमा खेती गरिएको जमीन,जंगल, चरण क्षेत्र, बगर झाडी तथा पानीले ढाकेको क्षेत्र रहेको छ ।

ङ) साँस्कृतिक उत्कृष्टता

ऐतिहासिक महत्व बोकेको मकवानपुरगढी क्षेत्रको साँस्कृतिक विशेषता बोकेको नेपालको तत्कालिक रणनीतिको महत्वको क्षेत्रको रुपमा रहेको सभ्यता तथा हिन्दु साँस्कृतिको अनुपम संगम रहेको छ । तामाङ पहिलो तथा दोश्रो स्थानमा क्षेत्री, ब्राम्हण, दलित जातीको मिश्रित बसोवास रहेको यस गाउँपालिकामा मुख्य कामकाजी भाषा नेपाली भएता पनि स्थानीय मौलिक तामाङ भाषा बोलीचालीमा रहेको पाइन्छ । धार्मिक रुपमा हिन्दु धर्मालम्बीहरुको उच्च बाहुल्यता रहेको यो क्षेत्रमा मनाइने चाडपर्वहरुमा कृष्णाष्टमी, तिज, जनैपुर्णिमा, दशै, तिहार, माघे सक्रान्ती, चैते दशैं आदि रहेका छन् । धार्मिक तथा भाषीक रुपमा करिव एकरुपता रहेको यो क्षेत्रमा चाडपर्वका समयमा गरिने बिभिन्न क्रियाकलापहरुले यहाँको सामाजिक र साँस्कृतिक उत्कृष्टता झल्काउने गर्दछन् । भेषभुषाका रुपमा पुरुषहरुले मुख्य रुपमा दैरा, सुरवाल, टोपी तथा कोट र महिलाले गुन्यु चोली र पटुकी लगाउने गर्दछन् ।

च) विकासका सम्भावनाहरु

मकवानपुरगढी गाउँपालिका क्षेत्रभित्र रहेका प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरु, आर्थिक अभ्यास र उपलब्ध मानविय पूँजी तथा पूर्वाधार लगायतको अवस्थालाई हेर्ने हो भने यस गाउँपालिकामा विकासका प्रशस्त सम्भावनाहरुको आँकलन गर्न सकिन्छ । गाउँ विकासका संम्भावनाहरुलाई देहाय बमोजिमको तालिकामा प्रस्तुत गरिएको छ ।

१) प्राकृतिक श्रोत तथा साधन

क) चिसो तथा उष्ण हावापानी र पहाडी क्षेत्रीय जैविक विविधता

ख) सामरी, भालुखोला, सुकौरा, ज्यामिरेलगायतका बाह्रै महिना बहने नदि तथा खोला

ग) चरण क्षेत्र

घ) नदि तटिय समथर भूभागधादिङ र डुम्रे कुनाजस्ता फराकिलो फाँट क्षेत्र

२. आर्थिक

क) दुध, तरकारी खेती, धान, सिमि, कोदो जस्ता अर्गानीक उत्पादन

ख) व्यवसायीक तथा अर्गानीक तरकारी खेती लागि प्रसिद्ध

ग) पशुपालनको अभ्यास  तथा वित्तिय सुबिधा सहज

३.सामाजिक

क)दुईवटा उमाविसम्मको शैक्षिक संस्थासम्मको पहुँच

ख) स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य एकाईलगायतका स्वास्थ्य सुविधा

ग) पूर्ण सरसफाईका अभ्यास तथा धारामा आधारित खानेपानी सुबिधा विस्तार

४.भौतिक पूर्वाधार

क) कान्तिराज, त्रिभुवन राजपथ क्षेत्र रहेको,

ख) आवश्यकता अनुसारका पुल तथा साँधुको निर्माण

ग ) राजमार्गबाट बाटो विस्तारको पहल

छ) ग्राहस्र्थ उत्पादन, मानव विकास सूचकांक र गरिवी

नेपाल मानव विकास प्रतिवेदन २०१४ तथा गरिबीको लघु क्षेत्र अनुमान २०६८ मा मकवानपुर जिल्लाको सन्दर्भमा औंलाइएका तथ्यहरुलाई मकवानपुरगढी गाउँपालिकाका हकमा पनि सामान्यीकरण गरिएको छ । नेपाल मानव विकास प्रतिवेदन, २०१४ अनुसार मकवानपुर जिल्ला मानव विकास सूचकांक ०.४९७ रहेको छ । जसअनुसार औषत आयु ६८.०८ वर्ष तथा प्रतिव्यक्ति आम्दानी १४१० अमेरिकी डलर रहेको छ । राष्ट्रिय योजना आयोगको गरिबीको लघु क्षेत्र अनुमान २०७४ अनुसार यस प्रदेश नं. ३ मा १२.२० प्रतिशत गरिव रहेको देखिन्छ । केन्द्रीय तथ्याङ्क विभागले भर्खरै सार्वजनिक गरेको साविकको गाविसको गरिबी मापन प्रतिवेदन अनुसार यस गाउँपालिकाको औसत गरिबीको प्रतिशत ३४.९८ प्रतिशत छ भने सबैभन्दा बढी गरिबी वडा नं. ७ र ८ मा ४९.०४ तथा सबैभन्दा कम वडा नं. ५ र ६ मा २४.४८ प्रतिशत रहेको छ । धनी र गरिबबीचको अन्तर वडा नं. १, २ र ३ (साविकको मकवानपुरगढी गाविस) मा ०.०७७१, वडा नं. ७ र ८ (साविकको सुकौरा र बुढीचौर) मा ०.१३१९ तथा ५ र ६ (साविकको आमभञ्ज्याङ) ०.०५३५ रहेको छ । यसले सुकौरा र बुढीचौरमा धनी र गरिबबीचको अन्तर तुल्नात्मक रुपमा (६५८ प्रतिशत) कम देखिन्छ भने मकवानपुरगढी (११९७ प्रतिशत) र आमभञ्ज्याङ (१७६९ प्रतिशत) मा यो अन्तर तुल्नात्मक रुपमा बढी रहेको देखिन्छ ।

ज) जनसंख्या वितरणको अवस्था

गाउँपालिकाको हालको कूल जनसंख्या २५१०४ रहेको छ । तथापि जनगणना २०६८ अनसार २५३२२ रहेको देखिन्छ । वडाअनुसार सबैभन्दा उच्च जनसंख्या वडा नं. २ मा ४१८३ रहेको छ भने सबैभन्दा न्यून वडा नंं. ८ मा २०८५ रहेको देखिन्छ । जसअनुसार हालको औषत घरपरिवारको आकार ५.२० र लैंगिक अनुपात १०८.११ रहेको छ ।

स्रोतः https://makawanpurgadhimun.gov.np/

अनिरुद्रखबर संवाददाता
थप जानकारी