हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ११ मा रहेको कालीदेवी आधारभूत बिद्यालयमा अध्ययनरत ७५ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

डिभाइन युथ क्लव मकवानपुर शाखाले बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । बकैया गाउँपालिका वडा नं. ११ का वडा अध्यक्ष गोपाल बहादुर नेसुरले बिद्यार्थीहरुलाई ब्याग, जुत्ता, कपी, कलम, पेन्सील हस्तान्तरण गरेका थिए । उनले शैक्षिक सामाग्री अभावका कारण पनि बिद्यार्थीहरुले बिचैमा बिद्यालय छाड्ने गरेको अवस्थामा आएका यस्ता सहयोगले बिद्यार्थीलाई हौसला पाएको बताए । बकैयाको दुर्गम वडाहरुमा रहेका बिद्यालयमा डिभाइन युथ क्लवले प्रत्यक्ष बिद्यार्थीहरुलाई गरेको सहयोगले लक्षित शैक्षिक उपलब्धी हासिल गर्न सहयोग पुग्ने बताए ।

गुरु पूर्णिमा पर्वको पूर्व सन्ध्यामा कार्यक्रमको आयोजना गरिएको थियो । २०३२ सालमा स्थापना भएको कालीदेवी प्रावि बकैयाको पुरानो बिद्यालय मध्य एक हो । हेटौंडा काठमाडौं जोड्ने पुरानो सडक कान्तिलोकपथ सडक खण्डबाट केही दुरीमा रहेको यस बिद्यालयमा हाल करिव १२० जना बिद्यार्थीहरु अध्ययरत रहेको शिक्षक दीर्घबहादुर लामाले जानकारी दिए ।

यस बिद्यालयमा बकैया ११ मोरङ्गे, आहलडाँडा, गढी १ लेनडाँडा, वडा नं. १२ तीनघरे फलाटेबाट बिद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन । भौगोलिक बिकटताका कारण करिव दुई घण्टा हिडेर बिद्यार्थी बिद्यालयमा पुग्नुपर्ने बाध्यता छ । भौगोलिक बिकटता तथा जेठ, असारमा धान रोप्ने तथा अन्य घरायसी काम बढी हुने गरेकाले बर्खाको बेला बिद्यार्थीहरुको बिद्यालयमा उपस्थिती न्यून हुने गरेको शिक्षक लामाले बताए ।

डिभाइन युथ क्लव मकवानपुर शाखा अध्यक्ष सरोज न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा कालीदेवी आधारभूत बिद्यालय व्यवस्थापन समिति सदस्य सुभाष स्याङतान, निरज निरौंला, शक्तिनारायण घिसिङ, दीर्घबहादुर लामा, सुर्यबहादुर लामा, निरुता स्याङतान, ज्ञानी घलान, विवेक सुवेदी लगायतकाको सहभागिता रहेको थियो ।

गतगुरुका श्री कृपालुजी महाराजका एकमात्र नेपाली प्रचारक स्वामी हरिदासद्वारा युवाहरुमा आध्यात्मिक जागरणका साथै वहुआयामिक व्यक्तित्व विकास गर्ने उद्देश्यले यो संस्था स्थापना भएको हो । राधा माधव समिति अन्र्तगत डिभाइन युथ क्लव २०६९ सालमा स्थापित क्लव हो । यसको नेपाल भर ६५ वटा शाखाहरु रहेका छन् ।

सागर पन्थी
थप जानकारी