हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नीति बनाएर काम गर्न आग्रह गरेका छन् । सामाजिक विकास मन्त्रालयको आयोजनामा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक एवं आव २०७९/८० को वार्षिक समीक्षा गोष्ठीलाई सोमबार हेटौंडामा सम्बोधन गर्दै पाँच वर्षको नीति तयार गरी कार्यक्रम बनाउन आग्रह गरेका हुन् ।
सामाजिक मन्त्रालयसँग विशेष गरी उपेक्षित वर्ग समुदायको आशा अपेक्षा रहेको हुँदा बागमती प्रदेश सरकारले नीतिगत कुरामा जोड दिनुपर्ने उनको भनाइ थियो । उनले भने, “हामीसँग नीतिको अभाव भयो, हाम्रो कार्यकाल पाँच वर्षको हो, सरकारको नेतृत्व फेरिन सक्छ, मन्त्रीज्यूहरू फेरिन सक्नुहुन्छ, सचिवज्यूहरू फेरिन सक्नुहुन्छ, पाँच वर्ष हाम्रो मन्त्रालयले के गर्छ भन्नेमा हामी प्रस्ट हुनु पर्छ।”
बागमती प्रदेश मातहत रहेका मन्त्रालयको निर्देशनालयहरू र महाशाखाहरू आवश्यकताभन्दा बढी नराख्ने र त्यसलाई घटाउने तयारी गरिरहेको उनले बताए । उनले शिक्षासम्बन्धी नीति बनाउने र प्रदेश उच्च शिक्षासम्बन्धी काम अगाडि बढाउने बताए । प्रदेशस्तरीय विश्वविद्यालय बनाउने र प्रदेशमा आवश्यकता पहिचान गरेर क्याम्पसहरू स्थापना गरिने बताए । उनले ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको प्रशंसा गरे ।
मन्त्रालयको सेवा १३ वटै जिल्लामा सहज तरिकाले पु–याउने वातावरणको सिर्जना हुनुपर्नेमा जोड दिँदै मन्त्रालयकेन्द्रित हुँदा मात्रै सेवाग्राहीलाई सङ्घीयता महँगो हुँदै गएको बताए । आमनागरिकलाई सहज सेवा दिने विषयमा सबै मन्त्रालयले छलफल चलाउनु पर्छ, हामीले सेवा दिने हाम्रा कार्यक्रमहरू सम्बन्धित जिल्लाबाट कार्यान्वयन हुने गरी संरचना बनाउनुपर्ने छ, उनले भने ।
कार्यक्रममा सामाजिक विकासमन्त्री कुमारी मोक्तानले बागमती प्रदेशमा नीतिको खाँचो रहेको बताइन् । बालबालिका, बेचबिखनविरुद्धको, अपाङ्गता, प्रारम्भिक बाल विकास र शिक्षा नीतिलाई अगाडि बढाउन सामाजिक विकास मन्त्रालय क्रियाशील भएर छलफल अगाडि बढाएको बताइन् ।
कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय, प्राडा नरविक्रम थापा, सचिवहरू र महाशाखा प्रमुखहरूको सहभागिता रहेको थियो । गाेरखापत्रबाट साभार












प्रतिक्रिया दिनुहोस्