हेटौंडा । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सुशासन, समृद्धि र न्यायको पक्षमा लागिरहने बताएका छन् । समाजवादी मोर्चाले बागमती प्रदेश अन्तर्गत आइतबार हेटौँडामा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन र सामाजिक न्यायको आन्दोलन उत्कर्षमा जाने बताए ।

विदेशमा रहेका नेपाली मध्ये साढे तीन लाखलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सरकार सफल भईसकेको बताउँदै उनले २५ लाख भन्दा बढी सामाजिक सुरक्षा कोषमा आवद्ध हुने विश्वास व्यक्त गरे । उनले सुशासन र भ्रष्टाचार बिरुद्ध सरकार लागिरहेको बताउँदै भ्रष्टाचार नियन्त्रणको अभियानमा सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए ।

कम्युनिष्टहरु एकजुट भएर साझा रुपमा अगाडि बढ्नुपर्छ, उनले भने–“विभाजन भएर गरेको अनुभव पनि साझा भएर अनुभवको प्रयोग गर्नुपर्छ, यो साझा सम्पत्ति हो ।” इतिहास, बिचार, त्याग नभएको हुरी जस्तो आएका विरुद्ध एकतावद्ध भएर कम्युनिष्टहरुले चुनौति दिनुपर्नेमा उनको जोड थियो ।

पछिल्लो समय नेपालमा जातीय दंगा भड्काएर अतिवादी अगाडि बढेको संकेत गर्दै जातीय र धार्मिक द्वन्द्वले राष्ट्रिय धार्मिक एकता बिगार्न सक्ने भएकाले सबै नेपाली सचेत रहनुपर्नेमा उनले जोड दिए ।