हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य राजाराम बर्तौलाले राजीनामा दिएका छन् ।

राप्रपाको केन्द्रीय महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे पार्टीमा उठाएको छानबिनको विषयलाई नेतृत्वले बेवास्ता गरेको कारण देखाउँदै उनले सोमबारदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।

बर्तौला गत मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । ‘नैतिकरूपमा पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएकोले नैतिकताको आधारमा आजैका मितिदेखि साधारण सदस्य समेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएको छु’, बर्तौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बर्तौला हालै राप्रपाबाट अलग भई राप्रपा नेपाल पार्टीको घोषणा गरेका कमल थापाका निकट सहयोगी हुन् । कमल थापा २०७२ सालमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुँदा बर्तौला उनका राजनीतिक सल्लाहकार थिए ।