हेटौंडा । कांग्रेस बागमती प्रदेश समिति संगठन निर्माणका साथै मानवीय सेवामा क्रियाशील बनेको छ । करिब दुई हप्ताको अवधिमा कांग्रेसले प्रदेशका ३ जिल्लाका करिब १३ सय परिवार विपन्न चेपाङ, तामाङ, दलितलगायतलाई न्यानो कपडा वितरण गरेको छ भने जंगली हात्ती पीडित समुदायलाई नगद सहयोगसमेत गरेको छ ।

ईन्द्रबहादुर बानियाँ नेतृत्वको कांग्रेस प्रदेश समितिले बुधबार मात्र चितवनका ३५० परिवार चेपाङ, तामाङलगायत विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । चितवनको राप्ती नगरपालिका वडा नम्बर १२ स्थित विकट गाउँ तिरुवामा पुगेर न्यानो कपडा सहयोग गरिएको हो । त्यस्तै मंगलबार धादिङको बेनिघाट रोराङ गाउँपालिका र गजुरी गाउँपालिकाका ३५० परिवार विपन्न चेपाङलाई ब्लाङ्केट सहयोग गरिएको थियो ।

कांग्रेसले करिब दुई हप्ताअघि मकवानपुरको राक्सिराङ र मनहरी गाउँपालिकाका विपन्न चेपाङ, तामाङ, दलित समुदायका ६१० परिवारलाई पनि जाडोबाट बच्न ब्ल्याङ्केट सहयोग गरेको थियो । मानवीय सेवालाई अभियानकै रुपमा सञ्चालन गर्ने क्रममा पार्टीले करिब २ हप्ताअघि सिन्धुलीको कमलामाई र दुधौली नगरपालिकामा जंगली हात्ती पीडित १४० परिवारलाई नगदसहित खाद्यान्न सहयोग गरेको थियो । जंगली हात्तीले घर भत्काएर बिचल्लीमा परेका कलवार, माझी, तामाङ र दलित समुदायलाई प्रति परिवार पाँच हजार रुपैयाँसहित ब्लाङ्केट, चामल, तेल, नुनलगायतका खाद्यान्न वितरण गरेको हो ।

प्रदेशमा निर्वाचित भएको करिब २ महिना बित्दै गर्दा बानियाँ नेतृत्वको कार्यसमितिले हरेक जिल्लामा संगठन मजबुत बनाउने र मानवीय सेवा पनि सँगसँगै लैजाने अभियान थालेको जनाएको छ । जनताको सुखदुखमा साथै रहेर आगामी निर्वाचनमा कांग्रेसलाई १ नम्बरको पार्टी बनाउन आफूहरु खटिएको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका पार्टी प्रदेश सभापति बानियाँले बताए ।

बुधबार चितवनको राप्ती १२ स्थित तिरुवामा भएको न्यानो कपडा हस्तान्तरण कार्यकममा बानियाँले प्रदेशमा रहेका विपन्न चेपाङ समुदायलाई एकीकृत बस्ती बसाल्ने योजना कार्यान्वयनको क्रममा रहेको बताए । कांग्रेस गरिब जनतालाई धनी बनाउने पार्टी भएको बताउँदै बानियाँले हरेक विपन्न र पिछडिएका परिवारलाई शिक्षा, सीप र प्रविधि प्रदान गरिने बताए ।

ुकम्युनिष्टले सधैं गरिबको पार्टी भनेर राजनीति गर्यो तर, गरिब सधैं गरिब नै रहिरहे तर, कांग्रेस गरिबलाई धनी बनाउने पार्टी हो, हामी जे भन्छौं त्यो गर्छौं । बानियाँले भने-अब जनताहरु कम्युनिष्टका झुठा आश्वासनको पछि लाग्दैनन् । अबको निर्वाचनमा जनताले कांग्रेसलाई पहिलो पार्टी बनाउनेमा ढुक्क छु ।

कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले दुई तिहाईको मत लिएर यसअघि सरकार चलाएको कम्युनिष्टले गरेका कामको समीक्षा गर्ने बेला आएको बताए । झुठा आश्वासन मात्र दिएर सत्तामा जाने कम्युनिष्टहरुको भविष्य सकिएको उनको भनाइ थियो । पार्टीको राप्ती १२ का सभापति अशोककुमार जिम्बाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका क्षेत्रीय सभापति किरण भूषण ओली, महाबिवेशन प्रतिनिधि राजेन्द्रप्रसाद बुर्लाकोटी, याउरालीटार माविका प्रधानाध्यापक रामकृष्ण प्रजा, १२ नम्वर वडाका अध्यक्ष अर्जुन प्रजालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेश सदस्य प्रज्वल दवाडी, रामेश्वर ओली, क्याम्सो गरुङलगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रमकैबीच विभिन्न पार्टी परित्याग गरी ५२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।