हेटौंडा । पर्सा राष्ट्रिय निकुञ्जले सामुदायिक वनको अधिकार माथि हस्तक्षेप गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरले समन्वयकारी भूमिका निर्वाह गर्ने भएको छ । शुक्रवार महासंघको कार्यालय, हेटौडामा भएको सरोकारवालाहरुको बैठकमा बोल्दै महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले समुदायको अधिकार स्थापित गर्न महासंघ सदैव समुदायको साथमा रहने बताए ।

कार्यक्रममा मध्यवर्ती सामुदायिक वनका अध्यक्षहरुले समूहको स्वीकृत विधान र कार्ययोजना अनुसार काम गर्न नपाएको, उपभोक्ताहरुलाई घाँस, दाउरा र काठको प्रयोग गनबाट बन्चित गराएको गुनासो गरेका थिए । उनीहरुले परापूर्व कालदेखि आफहरुले भोगचलन गर्दै आएको वनमा निकुन्जका कर्मचारीले उपयोग गर्नबाट रोकेको दुखेसो गरे । अनावश्यकरुपमा आफूहरुलाई कहिलेकाहि निकुन्जका कर्मचारीहरुले बन्धक बनाउने गरेको भन्दै मध्यवर्ती सामुदायिक वनमा पदाधिकारीहरुले वनमा उपभोक्ताहरुको सहज पहुचको लागि महासंघले नेतृत्वदायी भूमिका खेल्न आग्रह गरे ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, बागमती प्रदेशका सचिवालय सदस्य रामहरि चौलागाई, महासंघ, मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, मनहरीका अध्यक्ष हेमलाल उप्रती, आदिवासी जनजाती महासंघ, मकवानपुरका सदस्य कृष्ण राई, विभिन्न मध्यवर्ती सामुदायिक वनका अध्यक्षहरु, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

महासंघले निकुन्जलाई दवाव दिन फागुन २७ गते मनहरिको रजैया र २८ गते पदमपोखरीमा व्यापक जनपरिचालमुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको महासंघ मकवानपुरकी सहजकर्ता अन्जली थापाले बताईन ।

भीमसेन पौडेल
थप जानकारी