काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले सोमबार केन्द्रीय कमिटी बैठकमा ९७ जना केन्द्रीय सदस्यको सूची प्रस्ताव गरे । उक्त सूचीमा उनले आफ्नै छोरी र ज्वाइँको नामसमेत समावेश गरेका थिए ।

छोरी गंगा दाहाल खसआर्य महिलाअन्तर्गत बागमतीबाट समेटिएकी थिइन् भने ज्वाइँ जीवन आचार्य खसआर्य युवाअन्तर्गत प्रदेश १ बाट समेटिएका थिए । छोरी ज्वाइँलाई केन्द्रीय कमिटीमा प्रस्ताव गरेपछि प्रचण्डको विरोधमा टीकाटीप्पणी भएको थियो । तर अन्तिम समयमा छोरी र ज्वाइँ केन्द्रीय कमिटीमा अटाएनन् ।

निर्वाचनको मुखमा आफ्नै मान्छेहरुलाई केन्द्रीय कमिटीमा ल्याउँदा पार्टीलाई क्षति पुग्ने भन्दै केन्द्रीय नेताहरुले नै विरोध गरेपछि ४७ जनाको नाम हाललाई हटाइएको एक केन्द्रीय सदस्यले बताए । बाँकी ४७ जना निर्वाचनपछि जेठ २० गते बस्ने केन्द्रीय कमिटीले मनोनीत गर्ने बताइएको छ ।

कूल ३४४ सदस्यीय केन्द्रीय समितिमा ५० जना मनोनीत गरेसँगै २९७ सदस्य पुगेको छ । अझै ४७ केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ । आठौं महाधिवेशनबाट २४७ सदस्यीय केन्द्रीय समिति चयन भएको थियो ।

अन्नपूर्ण पोष्टबाट साभार