काठमाडौं । बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गरेका छन् । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पार्टी कार्यालय सानेपामा एमाले नेता रहेका क्षेत्रीलाई स्वागत गरे ।

एमाले बागमती प्रदेश सदस्य तथा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य रहेका उनले फागनु ४ गते सदरमुकाम चौतारामा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका थिए । ४० वर्षदेखि एमालेमा क्रियाशील क्षेत्री कुनै कम्युनिस्ट पार्टीमा जान सक्ने अनुमान भइरहेका बेला सबैलाई आश्चार्य पार्दै कांग्रेस प्रवेश गरेका हुन् ।

२०७४ को स्थानीय तह चुनावमा क्षेत्री एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । एमालेमा सामन्दवादी सोच र व्यक्तिवादी प्रवृत्ति हाबी हुँदै गएकाले आफूले ४० वर्षदेखि क्रियाशील पार्टी त्यागेको उनले बताए ।

एमालेको हालै सम्पन्न जिल्ला अधिवेशनमा उनले अध्यक्ष पदमा दाबी प्रस्तुत गरेका थिए । तत्कालीन जिविस सदस्यसमेत भएका क्षेत्री एमाले भित्र चर्चित नेतामा पर्थे । निर्वाचन क्षेत्र नं.१ मा राम्रो जनाधार भएका उनको बर्हिगमनले एमालेलाई ठूलो धक्का पुगेको चर्चा राजनीतिक बृतमा हुन थालेको छ ।

क्षेत्रीसँगै एमाले जिल्ला सदस्य कृष्ण क्षेत्री, सुभास सुन्दास र विष्णु तिमिल्सिना लगायत नेता, कार्यकर्ता कांग्रेस प्रवेश गरे ।