हेटौंडा । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनले मकवानपुरमा राजनीतिक दलहरूको गतिविधि बाक्लिँदै छ । विद्यार्थीलाई पोशाक, गरिब विपन्नलाई खाद्यान्न बाँड्न नेपाली कांग्रेस गाउँगाउँ दौडिएको छ । नेकपा एमाले पनि संगठनहरूलाई चलायमान बनाउन सक्रियता बढाउँदै आइरहेको छ ।

जिल्लाका १० पालिकामध्ये एमाले र कांग्रेसबीच दमदार प्रतिस्पर्धा हुने गत निर्वाचनकै परिणामले देखाउँछ । मकवानपुरका स्थानीय तहमा एमालेको बहुमत छ । २०७४ सालको निर्वाचनमा एमालेले ६ पालिका, कांग्रेस र माओवादीले दुई–दुई पालिका जितेका थिए ।

हाल एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) मा एमालेबाट निर्वाचित दुई पालिका अध्यक्ष गएका छन् । पार्टी विभाजनपछि पनि एमाले बहुमतमै छ । एमालेको सबैभन्दा धेरै मतदाता भएको स्थानीय तह हेटौंडा उपमहानगरपालिका हो । २०४६ मा बहुदल स्थापनापछि ०४९ र ०५४ मा भएको निर्वाचनमा हेटौंडामा एमाले विजयी बनेको थियो । २० वर्षपछि २०७४ मा भएको निर्वाचनमा पनि एमालेका मेयर र उपमेयर नै निर्वाचित भए ।

नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन उम्मेदवारलाई हराउँदै एमालेका हरिबहादुर महत मेयर र उपमेयरमा मिनाकुमारी लामा विजयी भएका थिए । लामा हाल एकीकृत समाजवादीको जिल्ला उपाध्यक्ष छिन् । २०७४ को निर्वाचनमा एमालेपछि राप्रपालाई दोस्रो ठूलो शक्तिका रूपमा हेरिन्थ्यो । तर, मतपरिणामले राप्रपालाई चौथो शक्तिमा पुर्‍यायो ।

३० वैशाखमा हुने निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा र नेकपा एकीकृत समाजवादी प्रमुख प्रतिस्पर्धी हुन् । यहाँ जनता समाजवादी पार्टीको पनि उपस्थिति छ । हेटौंडामा एमालेलाई टक्कर दिने पार्टी नेपाली कांग्रेस हो । कांग्रेसले पनि हेटौंडामा बलियो दाबेदारको रूपमा आफूलाई उभ्याउँदै आएको छ ।

बागमती प्रदेशको राजधानी शहर र प्रदेशकै एकमात्र उपमहानगर हेटौंडाको निर्वाचन सबैको चासोको विषय बन्ने गर्छ । हेटौंडाको मेयर बन्न एमाले र कांग्रेसबाट भटाभट आकांक्षी देखिन थालेका छन् । माओवादी केन्द्रमा आकांक्षी नदेखिए पनि एकीकृत समाजवादीबाट पनि दुई नेता आकांक्षी छन् ।
एमालेबाट संविधानसभा सदस्यदेखि मेयर महतकै दाबी

२०७४ सालको निर्वाचनमा हेटौंडाका १९वटा वडामध्ये १२वटा वडा जितेको एमालेबाट तीन जना नेता मेयरका आकांक्षी छन् । एक वर्षदेखि पार्टीभित्र र नेताहरूसँग संविधानसभा सदस्य तथा एमाले बागमती प्रदेशका संगठन विभाग प्रमुख अनन्त पौडेलले मेयर हुने इच्छा देखाएको चर्चा छ । पौडेल संविधानसभा सदस्यहरू मिलेर गठन गरिएको संस्था संविधानसभा सदस्य परिषद् संयोजक हुन् । उनले हेटौंडामा विकास निर्माणका ठूलारसाना आयोजना, जनताका आवश्यकता, अपेक्षा पूरा गर्ने भन्दै आश्वासन बाँड्न थालिसकेको चर्चा छ ।

वर्तमान मेयर हरिबहादुर महत पुनः चुनाव लड्ने उनकै सचिवालयले जनाएको छ । मेयरको दौडमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल पनि छन् । करिब ३ अर्ब बजेट रहेको उपमहानगरको नेतृत्व कस्ले हात पार्ने भन्नेमा तीन जना नेताहरूले पार्टीमा लबिङ बढाएको बुझिन्छ ।

पौडेल र खुलाल एमालेभित्र ओली समूहका पुरानो अनुहार हुन् । महत विगतमा माधव नेपाल पक्षका मानिए पनि मेयरमा निर्वाचित भएपछि भने कतै खुलेका थिएनन् । मेयरका आकांक्षी महत, पौडेल र खुलाल आन्तरिक रूपमा आफूनिकट नेताहरूसँग लबिङ गरिरहेका छन् । एक एमाले जिल्ला सदस्यका अनुसार पौडेलले पहिल्यैदेखि मेयर हुने तीव्र इच्छा बोकेका छन् । दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा उनले माओवादी उम्मेदवारलाई पराजित गरेका थिए ।

अघिल्लो निर्वाचनमा गठबन्धनलाई पराजित गरेका कारण पनि एमालेमा मेयरका लागि धेरै आकांक्षी हुने आकलन छ । तर, ठूला नेताहरूले नै मेयरमा दाबी गर्न थालेपछि भने अन्यलाई बोल्न समस्या भएको बुझिन्छ । हक्की स्वभावका महतले पुनः मेयरमा दोहोरिने चाहना राखेका छन् ।

निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको गठबन्धन भए महतलाई नै टिकट दिनुपर्ने आवाज कतिपयले पार्टीभित्र उठाइरहेका छन् । महतले अघिल्लो निर्वाचनमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दराम पराजुलीलाई ६ सय १५ मतले हराएका थिए । महतले २३ हजार १ सय २४ र पराजुलीले २२ हजार ५ सय ९ मत पाएका थिए । महत २०४९ र २०५४ का उपमेयरसमेत हुन् । त्यतिबेला बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल मेयर थिए ।

कांग्रेसमा पनि तीन जना आकांक्षी

कांग्रेस मकवानपुरका पूर्वसचिव आनन्दराम पराजुली मेयरका आकांक्षी हुन् । केही दिनअघि भएको जिल्ला अधिवेशनमा सभापतिमा त्रीपक्षीय भिडन्त हुँदा दोस्रो भएका पराजुलीलाई मेयरको टिकट दिने आश्वासन नेताहरूले दिएको चर्चा छ । सभापतिको निर्वाचन दोस्रो चरणमा धकेलिने भएपछि उनले संस्थापनकै अर्का उम्मेदवारलाई समर्थन गरेका थिए । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मेयरको टिकट दिने विश्वास दिलाएको कांग्रेस १ नम्बर क्षेत्रीय सभापति दामोदर खनालले जानकारी दिए । उनका अनुसार पराजुलीलाई मेयरको टिकट दिने सहमतिपछि उनी सभापतिबाट ब्याक भएका थिए ।

पराजुली अघिल्लो निर्वाचनमा एमालेका महतसँग ६ सय १५ मतले हार्न पुगेका थिए । नेपाली कांग्रेस मकवानपुरका युवा नेता प्रभातकुमार दाहाल पनि हेटौंडाको मेयरका दाबेदार हुन् । पार्टीमा प्रकाशमान सिंह पक्षधर दाहालले आफू मेयर बन्ने निश्चित भएको बताउँदै आएका छन् । कांग्रेस मकवानपुरको अधिवेशनमा संस्थापन पक्षलाई खुलेरै सहयोग गरेका दाहालले पार्टीभित्र आफू निकटलाई माहोल बनाउन आग्रह गरिसकेका छन् । दाहाल नेपाल विद्यार्थी संघका केन्द्रीय निवर्तमान महामन्त्री हुन् ।

कांग्रेसका वर्तमान सचिव भीमसेन महत पनि मेयरका आकांक्षी हुन् । अघिल्लो निर्वाचनमा नेकपा मालेबाट मेयरमा लडेका महतले ३ सय १५ मत ल्याएका थिए । निर्वाचन लगतै माले छोडेर कांग्रेस प्रवेश गरेका महत पुनः मेयरमा दाबी गरिरहेका छन् । उनले आफू मेयरको बलियो दाबेदार भएको शिलापत्रलाई बताए । ‘म मेयरमा चुनाव लडेर अनुभव लिइसकेको व्यक्ति हुँ । एक पटक फेरि मेयरमा उठ्छु र जित्छुु, उनले भने ।

एकीकृत समाजवादीका दुई नेताको इच्छा, चुपचाप माओवादी

एकीकृत समाजवादीबाट हेटौंडा उपमहानगरकी उपमेयर मिनाकुमारी लामाले मेयर हुने इच्छा व्यक्त गरेकी छन् । पार्टी जिल्ला उपाध्यक्षसमेत रहेकी लामा हेटौंडाको पहिलो महिला मेयर बन्ने दौडमा छिन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन उनले एक अन्तर्क्रियामा दलहरूले महिलाहरूलाई सधैँ दोस्रो पदमा मात्र राख्ने गरेको आरोप लगाउँदै अब आफू हेटौंडाको नेतृत्वमा आउन चाहेको बताएकी थिइन् । लामाले मेयरमा आफूले टिकट पाए जित्ने दाबी पनि गरिन् ।
एकीकृत समाजवादीबाट जिल्ला अध्यक्ष श्रीधर पोख्रेल पनि मेयरका आकांक्षी हुन् । उनले पनि मेयरमा चुनाव लड्ने निकटस्थहरूसँग बताउने गरेका छन् । पोख्रेलले अघिल्लो निर्वाचनमा पनि एमालेबाट मेयरका आकांक्षी थिए ।

नेकपा माओवादी केन्द्रबाट मेयरमा आकांक्षी देखिएका छैनन् । पूर्वमाओवादी नेता बलराम बललाई मेयरका दाबेदारका रूपमा हेरिन्थ्यो । बल केही महिना अघिमात्रै एमाले प्रवेश गरेका थिए । माओवादीभित्र हेटौंडाको मेयरका आकांक्षी देखा नपरेको पार्टी जिल्ला सचिव भीम पाख्रिनले बताए । उनका अनुसार पार्टी निर्देशन आइनसकेकाले सम्भावित उम्मेदवारहरूका बारेमा कुनै छलफल भएको छैन ।

सभारः सिलापत्र डटकम, नवीन तिमल्सिना

https://shilapatra.com/detail/79428?fbclid=IwAR1FsyeyM4n3PUOHXSRlooydLd_lckuICa6uBFIy6uqo5f5px1zZuJ7qHXw