हेटौंडा । स्थानीय तहको निर्वाचनमा ५ दलीय गठबन्धनमा नेपाली कांग्रेस केन्द्रीय समितिले गरेको सहमतिको विपक्षमा कांग्रेस हेटौंडा उपमहानगर समिति उभिएको छ ।

गठबन्धन दलबीच हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी रहने निर्णय भएकोप्रति कांग्रेस हेटौंडा उपमहानगर समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार पार्टी कार्यालयमा हेटौंडा उपमहानगर समितिले पत्रकार सम्मेलन गर्दै केन्द्रीय नेतृत्वले सहमतिबारे पुनरावलोकन नगरे एकल उम्मेदवार खडा गरेर निर्वाचनमा होमिने चेतावनी दिएको हो । नगर सभापति उत्सव इटेनीले सत्तारुढ गठबन्धनले गरेको निर्णय स्वीकार्य नभएको बताए । उनले हेटौंडाको मेयर कुनैपनि हालतमा काँग्रेसले पाउनुपर्ने माग गरेका छन ।