हेटौंडा । स्थानीय निकायको चुनाव हुने दिन नजिकिए संगै देशभर चुनावी सरगर्मी बढेको छ । वाग्मती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकामा मेयरको नेतृत्व लिन होड चलेको छ अहिले ।

हेटौंडामा मेयरको दावि गर्नेहरुमा दलका उम्मेद्वारदेखि स्वतन्त्र भनिएकाहरुको लामै लर्को छ । दलहरु भित्रै पनि तीव्र होड छ, नातावाद, कृपावाद, केन्द्रको आर्शिवाद, पक्ष बिपक्ष, गुट–उपगुट, निकट विकट र राजनीतिक भबिष्य समेत बनाउने र मेटाउने खेलमा अहिले मकवानपुरे राजनीति घुमेको छ । टिकटको लागि स्थानीयदेखि केन्द्रीय नेता सम्म आकांक्षीहरुको दौडमा छन ।

हेटौँडा उपमहानगरपालिकाको आसन्न निर्वाचनमा सत्तागठबन्धन र एमालेबीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ । एमालेको नगर कमिटी हुँदै जिल्लाले तीनजनाको नाम प्रदेश कमिटीसमक्ष पेस गरिसकेको छ । एमालेले वर्तमान मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्त पौडेल र जिल्ला समन्वय समिति सदस्य गणेशकुमारी प्रधानको नाम प्रदेशलाई सिफारिस गरिसकेको छ । यी नेता पनि टिकटका लागि केन्द्रीय नेतासँग निरन्तर भेटघाटमा जुटेका छन । उपमेयरमा इन्द्र नेपाल, सुमित्रा काफ्ले र आरती पाठकको नाम सिफरिस भएको छ । राप्रपाबाट मधु अधिकारी मेयरका एक्लो दाबेदार देखिएका छन ।

एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठले केही दिनभित्र उम्मेदवार टुंगो लाग्ने बताए । उनले हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयरका लागि प्रदेश कमिटीमा जिल्लाबाट नाम सिफारिस गरिएको जानकारी दिए । प्रदेशले केन्द्रमा सिफारिस गरेपछि उम्मेदवार तय हुने भएकाले दाबेदारबीच कसरत जारी रहेको उनले बताए ।

सत्तागठबन्धनभित्र टिकटको मारामार छ । गठबन्धनमा सबैभन्दा बलियो दल कांग्रेस हो । तर, सत्तागठबन्धनबीच भएको सहमतिअनुसार हेटौंडा उपमहानगरपालिकाको प्रमुख नेकपा एकीकृत समाजवादीलाई दिने भनिएको छ । तर, कांग्रेसका स्थानीय नेताले मेयरको दाबी छाडेका छैनन ।

एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी अन्य जिल्लाभन्दा मकवानपुरमा बलियो छ । तर, अघिल्लो निर्वाचनमा माओवादी र कांग्रेसबीच चुनावी तालमेल हुँदा कांग्रेसका उम्मेदवार थोरै मतले मात्र पराजित भएका थिए । ०७४ को निर्वाचनमा एमालेका हरिबहादुर महत २३ हजार एक सय २४ मत ल्याई विजयी हुँदा कांग्रेस र माओवादीका साझा उम्मेदवार पराजुली ६ सय १५ मतान्तरले पराजित भएका थिए ।

कांग्रेस हेटौँडा उपमहानगर समितिले उपमहानगर सभापति उत्सव इटेनी, आनन्दराम पराजुली र लक्ष्मी श्रेष्ठको नाम जिल्ला कार्यसमितिसमक्ष सिफरिस गरेको छ । नेविसंघका पूर्वमहामन्त्री प्रभात दाहाल पनि आकांक्षी छन । उनको नाम जिल्लामा सिफारिस भएको छैन । तर, जिल्लाले आफ्नो नाम पनि थपेर प्रदेशसमक्ष सिफारिस गर्ने उनले दाबी गरेका छन ।

कांग्रेसले उपमेयरमा अमृता थापा, तारा राई कार्की र इन्दिरा न्यौपानेको नाम नगरबाट जिल्लामा सिफारिस गरेको छ । पराजुली र दाहाल निरन्तर केन्द्रीय नेतालाई प्रभावमा पार्न प्रयासरत थिए । कांग्रेस सहमहामन्त्री महालक्ष्मी डिना उपाध्यायले केही दिनअघि पराजुलीलाई सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गराएकी थिइन । पराजुलीले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापासँग पनि भेट गरी आफूलाई उम्मेदवार बनाउन आग्रह गरेका थिए । प्रकाशमान सिंहनिकट दाहालले पनि बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको माध्यमबाट प्रधानमन्त्री देउवासँग भेट गरी टिकटका लागि आग्रह गरेका थिए । तर, एकीकृत समाजवादीलाई उपमहानगरको नेतृत्व दिने भएपछि उपमेयरको उम्मेदवार बन्न तीव्र प्रतिस्पर्धा हुने अनुमान छ ।

एकीकृत समाजवादीले भने मेयरका लागि वर्तमान उपमेयर मीनाकुमारी लामा र जिल्ला अध्यक्ष श्रीधर पोखरेलको नाम सिफारिस गरेको छ । दुवै नेता स्वास्थ्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य विरोध खतिवडा र केन्द्रीय उपाध्यक्ष केदार न्यौपानेसँग निरन्तर सम्पर्कमा छन । एकीकृत समाजवादीले उपमेयरमा तिलक अधिकारी, धु्रव भुजेल, कविन पन्त र तारा ढुंगानाको नाम सिफारिस गरेको छ । गठबन्धनभित्रको जनता समाजवादी पार्टीबाट मेयर र उपमेयर दुवैमा दाबेदार देखिएको छैन ।

स्थानीय तहको निर्वाचनमा ५ दलीय गठबन्धनमा नेपाली कांग्रेस केन्द्रीय समितिले गरेको सहमतिको विपक्षमा कांग्रेस हेटौंडा उपमहानगर समिति उभिएको छ । गठबन्धन दलबीच हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी रहने निर्णय भएकोप्रति कांग्रेस हेटौंडा उपमहानगर समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी कार्यालयमा हेटौंडा उपमहानगर समितिले पत्रकार सम्मेलन गर्दै केन्द्रीय नेतृत्वले सहमतिबारे पुनरावलोकन नगरे एकल उम्मेदवार खडा गरेर निर्वाचनमा होमिने चेतावनी दिएको हो । नगर सभापति उत्सव इटेनीले सत्तारुढ गठबन्धनले गरेको निर्णय स्वीकार्य नभएको बताए । उनले हेटौंडाको मेयर कुनैपनि हालतमा काँग्रेसले पाउनुपर्ने माग गरेका छन ।

मेयरका उम्मेद्वाहरु एमालेले सिफारिस गरेको छ भने सत्तागठबन्धनले केन्द्रबाट समाजवादीलाई दिने टुंगो लगाएपनि हेटौंडामा कांग्रेसका युवा नेताहरुले कुनैपनि हालतमा काग्रेसलाई यो निर्णय मान्य नहुँने भन्दै पार्टी कार्यालयमा ताल्चा लगाउनेदेखि त्यसको बिरोधमा उत्रिएका छन । एमालेले नाम सिफारिस गरेपनि मेयर र उपमेयरको अन्तिम टुंगो लगाएको छैन । यता सत्तागठबन्धबाट समाजवादीले पनि सिफारिस गरेको छ भने अन्तिम नाम टुंगो लगाएको छैन । काग्रेसले भने सत्तागठबन्धको निर्णय नमान्ने लाइन क्लियर गरेको छ ।

चर्चा, परिचर्चा चलिरहदा अहिले हेटौंडाको मेयर, उपमेयरमा अन्तिम नामावली टुंगो लगाउन सबै दलहरु वइट एण्ड सि मै रोकिएका छन । सबैलाई सकस परेको छ, अन्तिम टुंगो लगाउन ।