हेटौंडा । एमाले मकवानपुरले हेटौंडा नगर क्षेत्रमा हेडम्वा भ्यू टावर स्थापनादेखि खरको छाना बिस्थापन गर्ने सम्मको प्रतिवद्धता जनाएको छ ।

नेकपा एमाले हेटौंडा उपमहानगरपालिका कमिटीले आसन्न स्थानीय तहको निर्वाचनको लागि जारी गरेको प्रतिबद्धतापत्रमा सम्बृद्ध हेटौंडाको परिकल्पना समेत गरिएको छ । नेकपा एमाले मकवानपुरका जिल्ला अध्यक्ष एकलाल श्रेष्ठले प्रतिवद्धता पत्र पढेर सुनाएका थिए । उनले हेटौंडा नगरमा हेडम्वा भ्यू टावर, खरको छाना बिस्थापन, युवालाई रोजगारी, काठको पुल बिस्थापन गरेर पक्की पुल, हरित नगरि र २५ मिटरको बिषयलाई उचित व्यवस्थापन गर्ने लगायतका प्रतिवद्धता पत्र पढेर सुनाएका हुन ।

प्रतिबद्धता पत्रमा खानेपानी बोर्डबाट पानी उपलब्ध भईरहेका उपभोक्ताहरुलाई १० हजार लिटर पानी निशुल्क उपलब्ध, हेटौंडा उपमहानगरपालिकालाई समय–समयमा रणनितिक परामर्शका लागि सबै पक्ष समेटेर हेटौंडा विकास परिषद गठन गर्ने, योजना निर्माण, अनुगमन र मुल्याङ्कनका लागि नगर योजना आयोग गठन गर्ने, प्रदेश राजधानीको गुरुयोजना तर्जुमा र कार्यान्वयन गर्न प्रदेश सरकारसँग सहकार्य र समन्वय गर्ने पत्रमा उल्लेख छ ।

एमालेले ७० बर्ष भन्दा माथिका हेटौंडा उपमहानगरपालिका भित्रका १ सय ५९ बृद्धबृद्धालाई खाजा, हर्लिस, प्रमाणपत्र, खादा सहित सम्मान गरेको नगर सचिव बोलबहादुर कार्कीले जानकारी दिए । त्यस्तै ‘समृद्ध नेपाल’ शिर्षकको पनि गीत सार्वजनिक गरिएको थियो ।

नेकपा एमाले हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर राणा, एमालेका केन्द्रीय सल्लाहकार तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पोडैल, केन्द्रीय सदस्य आनन्त पौडेल, प्रदेश सदस्य रघुनाथ खुलाल, लगायतको आतिथ्यता रहको थियो ।