हेटौंडा । स्थानीय तहको निर्वाचनमा मकवानपुरमा सत्तारुढ गठबन्धन दलबीच पालिकाको प्रमुख र उपप्रमुखको भागबण्डा मिलेको छ । आइतबार दिउँसो भागबण्डा मिलेको हो ।

नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँको संयोजकत्वमा बसेको बैठकले नेपाली कांग्रेसले मकवानपुरगढी, मनहरी, राक्सिराङ, कैलाश र बकैया गाउँपालिकाको अध्यक्ष, हेटौंडा उपमहानगर, थाहा नगरमा उपमेयर पद तथा भीमफेदी, ईन्द्रसरोवर र बागमती गाउँपालिकाको उपाध्यक्ष पद पाउने भएको छ ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले थाहा नगरपालिकामा मेयर, बागमती र भीमफेदी गाउँपालिकाको अध्यक्ष पद पाउने सहमति भएको छ । माओवादी केन्द्रले मकवानपुरगढी, मनहरी, राक्सिराङ, कैलाश र बकैया गाउँपालिकामा उपाध्यक्ष पद पाउने भएको छ ।

यस्तै नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयर, ईन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष पाउने सहमति भएको छ ।

आइतबार भएको सहमति पत्रमा नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँ, नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्री र नेकपा एकीकृत समाजवादी बागमती प्रदेश इन्चार्ज केदार प्रसाद नेउपानेले हस्ताक्षर गरेका छन ।