हेटौंडा । नेपाली कांग्रेसले गठबन्धनबाट आफ्नो भागमा परेका मकवानपुरका सबै स्थानीय तहको प्रमुख तथा उपप्रमुखको उम्मेदवारको टुङ्गो लगाएको छ ।

हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा राजेश बानियाँ र थाहा नगरपालिकाको उपमेयरमा भरत गोपालीले टिकट पाएसँगै कांग्रेसको भागमा परेका सबै स्थानीय तहको प्रमुख उपप्रमुखको उम्मेदवार टुङ्गिएको हो ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय समितिले केहीबेरअघि मात्रै हेटौंडा र थाहानगरको उपमेयर उम्मेदवारको टुङ्गो लगाएको नेपाली कांग्रेस बागमती प्रदेश पार्टी कार्यालयका मुख्य सचिव राजु नेपालले जानकारी दिए । गठबन्धनको निर्णय अनुसार कांग्रेसले मकवानपुरमा रहेका १० वटा पालिकामध्ये पाँच पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुख पाउने सहमति भएको थियो ।

कांग्रेसले बकैया गाउँपालिकको अध्यक्षमा धर्मराज लामिछाने, मकवानपुर गढी गाउँपालिकाको अध्यक्षमा दोर्जे लामा स्याङ्तान, कैलाश गाउँपालिकाको अध्यक्षमा लोकबहादुर मुक्तान, राक्सिराङ गाउँपालिकाको अध्यक्षमा राजकुमार मल्ल, मनहरी गाउँपालिका अध्यक्षमा रञ्जन कालाखेतीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

त्यसैगरी बागमती गाउँपालिका उपाध्यक्षमा फणिन्द्र तिमल्सिना, भीमफेदी गाउँपालिका उपाध्यक्षमा मोमलाल दोङ र ईन्द्रसरोवर गाउँपालिका उपाध्यक्षमा निर्मला रुम्बालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।