हेटौंडा । नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेको केही बेरमा गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा मीना कुमारी लामा र उपमेयर पदमा राजेश बानियाँले उम्मेदवारी दर्ता गराएका हुन ।

गठबन्धन पनि दलबल सहित उम्मेदवारी दर्ता गराउनका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । सोमबार दिउँसो ३ बजेको समयमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर लामा र बानियाँले उम्मेदवारी दर्ता गराएका थिए ।

सत्तारुढ दलबीचको सहमतिमा नेकपा एकीकृत समाजवादीबाट मीना कुमारी लामा मेयर पदमा उम्मेदवार बनेकी थिइन् भने नेपाली कांग्रेसबाट राजेश बानियाँ उपमेयर पदमा उम्मेदवार बनेका हुन ।

आसन्न स्थानीय तह निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकाको मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्य पदहरुमा उम्मेदवारी दर्ता गर्न सत्तारुढ गठबन्धन दल हेटौंडा–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।

बाजागाजा र झाँकीसहित ठूलो संख्यामा संख्यामा कांग्रेसका नेता तथा कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा पुगेका हुन् । त्यस्तै, कांग्रेस, नेकपा समाजवादी, नेकपा माओवादीलगायतका पार्टीहरुले छुट्टाछुुट्टै हेटौंडाको १९ वटै वडाका अध्यक्ष तथा सदस्यहरुका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका थिए ।