हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्षका उम्मेदवार राजु गुरुङले वडाका सम्पूर्ण जेष्ठ नागरिक तथा दीर्घरोगी बिरामीलाई घरघरमा स्वास्थ्य सेवा पुर्‍ याउने बताएका छन । उनले वडामा पहिलो प्राथमिकता स्वाथ्यलाई दिर्दै घरघरमा औषधी समेत बितरण गरिने बताए । उनले युवालाई खेलकुदमा जोड्न खेल मैदानको निर्माण, कृषिमा नमुना बनाउने गरि काम गर्न आफुले वडा अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएको बताए ।

हेटौंडा ६ मा रहेको पीस पार्कलाई पर्यटकीय क्षेत्रको रुपमा थप विकास गर्ने तथा बुद्ध मुत्र्ति स्थापना गरि ध्यान केन्द्र निर्माण गर्ने, कुमलटारको कमल पोखरीलाई पर्यटकीय क्षेत्रमा विकास गर्ने योजना रहेको गुरुङले बताए । लागुऔषधको दुव्र्यसनीलाई नियन्त्रण गर्नका लागि बिद्यालय स्तरबाटै सचेतनामुलक कार्यक्रम संचालन गर्ने, यस वडामा रहेको हरेक बिद्यालयमा खेल प्रशिक्षकको समेत व्यवस्था गर्ने लगायतकाको योजना रहेको उनले बताए । गुरुङ विगत २५ बर्षदेखि स्वास्थ्य सेवामा सक्रिय भएर लागेका छन । उनले कोभिडको समयमा पनि सक्रिय भएर वडावासीहरुको सेवा गरेका थिए ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट महिला सदस्यमा शोभा घिमिरे, दलित महिला सदस्यमा मायादेवी सार्की, खुल्ला वडा सदस्यमा दीपक सापकोटा र तेजप्रसाद चौलागाईले उम्मेद्वारी दर्ता गराएका छन ।