हेटौंडा । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हु ईज एमाले भन्नेलाई बैशाख ३० गते हुने निर्वाचनमा जनताले देखाइदिने बताएका छन । मे दिवसका अवसरमा हेटौंडाको हुप्राचौरमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै उनले चुनावमा जनताले देखाइदिने बताएका छन । एमाले भनेको जनताको पार्टी हो, अध्यक्ष ओलीले भने मजदुर, किसान, जेष्ठ नागरिक, पिछडिएका वर्ग, निमाजती कर्मचारी लगायत सबैको लागि काम गर्र्नेे पार्टी एमाले भएको उनले बताए ।

उनले संघीय सरकार कमिसनको लोभमा फसेर अर्बौ रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने तयारी गरिरहेको आरोप लगाए । सरकारले चुनावको मुखमा कमिसनको लोभमा फसेर स्वास्थ्य सामग्री खरिद गर्न लागेको उनले बताए । स्वास्थ्य मन्त्री विरोध खतिवडाप्रति लक्षित गर्दै २४ लाख कोरोना भ्याक्सिन हराएको विषयमा समेत उनले टिप्पणी गरे ।

उनले आगामी बैशाख ३० गते हुने निर्वाचनबाट देश लुट्नको लागि निर्माण गरिएको गठवन्धन नामको ‘लुतो’ फालिने बताए । ‘सामन्यतया त हाम्रो नेपाली समाजमा साउन १ गते लुतो फाल्ने चलन छ, तर यो पटक त्यो भन्दा अघिनै गठवन्धनरुपी लुतोलाई जनताले बैशाख ३० गते नै फाल्नेछन् ।’ उनले यो वर्ष बैशाख ३० गते नेपाली राजनीतिको ‘लुतो’ लाई जनताले फाल्देर स्वस्थ स्थानीय सरकारको लागि एमालेलाई मतदान गर्ने बताए ।

नेकपा एमालेलाई देशभर मतदान गर्न सहज रहेको भन्दै उनले भने ‘एमालेलाई त कति सजिलो छ मतदान गर्न र भोट माग्न, सात सूर्य भन्न मिल्छ तर गठवन्धनले के भनेर माग्ने ? चितवनमा प्रचण्डले छोरीको लागि के भनेर मत माग्ने ? ’
उनले प्रचण्डले छोरी जिताउनको लागि मात्र पाँच हजार नेपाली जनताको बलि चढाएको देखिएको भन्दै उनको लागि स्थानीय तहमा छोरी र प्रतिनिधिसभामा आफु तथा बुहारीको मात्र ध्यान हुने ओलीको आरोप छ । प्रचण्डले छोरीको लागि चितवनमा कांग्रेस कार्यकर्ताको बिचल्ली बनाएको उनको आरोप छ ।

ओलीले गठवन्धन सरकारलाई खानको लागि मात्र बनेको भन्दै आफुहरुको सरकारलाई परमादेशले विस्तापित गरेपछि बनेको नयाँ सरकारले हालसम्म कुनै काम नगरेको बताए । हामीले निरन्तर गरिरहेको विकासको कामलाई समेत रोकेर यो देशमा लुटने काममा गठवन्धन सक्रिय रहेको भन्दै उनले आफ्नो कुनै अजेण्डाहरु नहुँदा एमालेको घोषणापत्र ‘कपि’ गर्न कांग्रेस वाध्य भएको स्पष्ठ पारे ।