हेटौंडा । नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधबकुमार नेपालले चुनाव लक्ष्यित गठबन्धनको उदेश्य पुरा भएपछि पार्टीका कार्यकर्तालाई अब संगठन बलियो बनाउन निर्देशन दिएका छन् ।

गठबन्धनसँगको जितलाई हेरेर मख्ख नपार्न आग्रह गर्दै उनले भने “आफ्नो संगठन निर्माण गर्न लाग्नु होस” । उनले भने “गठबन्धन हैन, संगठन बनाऔ, शक्ति निर्माण गर्नुस्, एक औलाले केही गर्दैन मुठ्ठी बनाउनु होस् ।” चुनावमा जहाँ जहाँ गठबन्धन भाँडियो त्यहाँ आफ्ना पार्टीको उम्मेदवारहरुले टिकट फिर्ता गर्न चाहेको प्रसंग कोट्याउँदै उनले भने “हामीले आफैं जित्ने छौ, हामी बलियो भए सबै हाम्रा हुन्छौ, हामीले संगठन बलियो बनाउन सक्नेछौं ।” गठबन्धनमा सहभागी दलको हैसियत मतपरिणाममा देखिएको भन्दै उनले आफूहरु बलियो शक्ति बनेको दाबि गरे ।

हेटौंडा उपमहानगरपालिकालगायत मकवानपुर जिल्लाको ८ वटा स्थानीय तहमा जित प्राप्त भएपछि विजयीहरुलाई बधाइ दिन हेटौंडा आइपुगेका नेपालले नेकपा एकीकृत समाजवादीले आफ्नो आधार तय गरेको भन्दै अब तल्लो तहसम्म पुगेर संगठन बलियो बनाउन ध्यान दिनुपर्ने बताए । धरानको मेयरमा विजयी भएका हर्क सम्पाङको उदाहरण दिंदै उनले भने “निरन्तर जनताको साथमा हुने मान्छेलाई पार्टी नै नचाहिने रहेछ, हामी भन्दा पनि उनी अघि आए, हामीले उहाँबाट सिक्नु पर्छ ।”