हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले शुक्रबार पदबाट राजीनामा दिए । मंसिर ४ मा भएको निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका पाण्डेले संघीय सांसदको शपथग्रहण गरेपछि प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनको राजीनामा स्वीकृत पनि गरिसकेका छन् । कानुनी जटिलताका कारण अर्को सरकार नबन्दासम्म बागमती प्रदेशको मुख्यमन्त्री पाण्डे नै रहेका छन्। उनले पदबाट राजिनामा दिएसँगै बागमती प्रदेशमा अबको मुख्यमन्त्री को बन्ला? भन्ने सबैको चासोमा परेको छ ।
सत्तारुढ गठबन्धनसँग सरकार गठनको लागि स्पष्ट बहुमत भएकोले उसकै सरकार बन्ने निश्चितजस्तै छ तर मुख्यमन्त्री भने को हुने हो भन्ने टुंगो हालसम्म लागेको छैन । प्रदेशमा अझै एक हप्ता नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने सम्भावना पनि देखिँदैन ।
प्रदेशसभाको पहिलो बैठक पुस १७ मा
शुक्रबार प्रदेशसभामा बसेको सर्वदलीय बैठकले १३ गते प्रदेशसभाको ज्येष्ठ सदस्यको शपथग्रहण, १४ गते नवनिर्वाचित सांसदको शपथग्रहण गर्ने र पुस १७ गते पहिलो संसद बैठक बस्न सहमति जुटाएको छ ।
त्यसैगरी पहिलो संसद बैठकपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न पनि दलहरूबीच सहमति जुटेको बताइएको छ । केन्द्रमा गठबन्धनमा भागबण्डाको समीकरण मिलिनसकेको हुँदा पनि प्रदेशमा नयाँ सरकार गठनमा ढिलाई हुने देखिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय सरकार गठनको लागि बहुमतसहित प्रधानमन्त्रीमा दाबी पेश गर्न आइतबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । तर हालसम्म संघीय सरकार गठनका लागि प्रधानमन्त्री लगायतका पदमा गठबन्धनमा भागबण्डा टुंगिएको छैन ।
संघमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, सातै प्रदेशको प्रमुखदेखि मुख्यमन्त्रीसम्मको भागबण्डा टुंगिएपछि मात्रै संघमा सरकार बन्ने र संघीय सरकार बनेपछि मात्रै प्रदेश सरकार गठनको प्रक्रिया अघि बढ्नसक्ने देखिन्छ ।
गठबन्धनका दलहरूको दाबी
केन्द्रमा कांग्रेस नेताहरूसँगको छलफलमा माओवादीले ३ र एकीकृत समाजवादीले १ प्रदेशमा नेतृत्व गर्न पाउनुपर्ने माग राखेको जनाइएको छ । स्रोतका अनुसार माओवादीले मुख्यतः कर्णाली, प्रदेश १, सुदूरपश्चिम प्रदेशको नेतृत्व पहिलो चरणमै आफूले गर्न पाउनुपर्ने अडान राखेका जनाइएको छ भने एकीकृत समाजवादीले पनि सुदूरपश्चिम प्रदेशको नेतृत्वमा दाबी गरेको छ ।
मधेश, गण्डकी, बागमती र लुम्बिनीमा माओवादी र एकीकृत समाजवादीले शुरुवाती नेतृत्वको माग नगरेको पाइएको छ । यसरी हेर्दा बागमती प्रदेशमा नेपाली कांग्रेसले नेतृत्व गर्न पाउने सम्भावना बढी देखिएको छ ।
कांग्रेसबाट बागमती प्रदेशमा मुख्यमन्त्रीका दाबेदार दुईजना छन् । संस्थापन पक्षबाटै मुख्यमन्त्रीमा दाबी गरिरहेका दुईजनाबीच सहमति हुन नसक्दा संसदीय दलको नेता चयनका लागि पुस १३ गते निर्वाचनसमेत हुँदैछ । संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने भएकोले शुरुमा दलको नेता बन्नको लागि नै यतिवेला कांग्रेसमा दौडधुप चलिरहेको छ ।
कांग्रेसबाट मुख्यमन्त्रीमा लामा र बानियाँको दाबी
कांग्रेस केन्द्रीय सदस्य नुवाकोट जिल्ला प्रतिनिधिसभा क्षेत्र २ (ख) बाट निर्वाचित बहादुरसिंह लामा र कांग्रेस बागमती प्रदेशका सभापति मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ (ख)बाट निर्वाचित इन्द्रबहादुर बानियाँ संसदीय दलको नेता बन्ने दौडमा छन् ।
उनीहरू दुवैजना बागमती प्रदेशको मुख्यमन्त्री बन्ने योजनासहित दलको नेताको लागि कसरतमा छन् । कांग्रेस केन्द्रीय सदस्य लामा बागमती प्रदेशको मुख्यमन्त्री बन्नकै लागि केन्द्रबाट प्रदेशमा झरेको चर्चा छ । पार्टीमा लामो समयदेखि लाग्दै आए पनि आफूले अवसर नपाएकाले पनि मुख्यमन्त्रीमा आफ्नो दाबी स्वाभाविक भएको लामाको भनाइ छ ।
बागमती प्रदेशसभाको अघिल्लो कार्यकालमा कांग्रेस संसदीय दलको नेता भइसकेका बानियाँ सोही कार्यकालमा मुख्यमन्त्रीका दाबेदार थिए । सहमति कार्यान्वयन भएको भए उनी यति वेला प्रदेशका मुख्यमन्त्री हुन्थे ।
सत्ता गठबन्धनमा बागमती प्रदेश सरकारको आधा–आधा कार्यकाल बानियाँ र हालका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेतृत्व गर्ने लिखित सहमति भएको थियो । अन्तिम समयमा पाण्डे सहमतिबाट पछि हट्दा बानियाँ मुख्यमन्त्री बन्ने अवसरबाट वञ्चित भएका थिए ।
त्यसैले पनि यो पटक बानियाँ आफ्नो दाबेदारी स्वाभाविक रहेको बताउँछन । बानियाँ यसअघि संविधानसभा सदस्य हुँदै संघीय सरकारको गृह र पर्यटन राज्यमन्त्री भइसकेका छन्। यो पटक संसदीय दलको नेता र मुख्यमन्त्री आफूले पाउनुपर्ने उनको दाबी छ।
मुख्यमन्त्रीमा माओवादीबाट जमकट्टेल र पौडेलको दाबेदारी
गठबन्धनको घटक नेकपा माओवादी केन्द्रमा पनि संसदीय दलको नेता बन्दै मुख्यमन्त्री बन्न दुईजना दाबेदारको रुपमा देखिएका छन् । माओवादीको बागमती प्रदेशको संसदीय दलको नेता हुन शालिकराम जमकट्टेल र सरल सहयात्री पौडेलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
नेकपा माओवादी केन्द्रको बागमती प्रदेशको संसदीय दलको नेता हुन शालिकराम जमकट्टेल र सरल सहयात्री पौडेलबीच कडा प्रतिस्पर्धा हुने भएको छ । एकले अर्कोलाई सजिलै छाड्ने स्थिति नभएपछि चुनावसमेत हुन सक्ने सांसदहरूले बताएका छन् ।
यसअघि दलको नेता जमकट्टेल भइसकेकाले यस पटक पौडेलले आफू हुनुपर्ने दाबी प्रस्तुत गरेका छन् । पौडेल माओवादीको बागमती प्रदेश अध्यक्षसमेत रहेकाले उनी आफू दलको नेता बन्दै मुख्यमन्त्री बन्नुपर्ने बताउँछन् ।
प्रदेशसभाको पहिलो कार्यकालमा दलको नेता, सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री र आर्थिक मामिला तथा योजनामन्त्री बनिसकेका जमकट्टेल दोस्रो कार्यकालमा आफूले मुख्यमन्त्री बन्न पाउनुपर्ने दाबी गरिरहेका छन् ।
एकीकृत समाजवादीको पनि मुख्यमन्त्री दाबी
गठबन्धनकै अर्को घटक नेकपा एकीकृत समाजवादीले पनि प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको छ । प्रदेशको पहिलो कार्यकालको १४ महिना गठबन्धनकै समर्थनमा सरकारको नेतृत्व गरेको समाजवादीले दोस्रो कार्यकालमा पनि नेतृत्व गर्न पाउनुपर्ने दाबी गरेको हो ।
तर समाजवादीमा गठबन्धनमा रहेका अरु दलमा जस्तो विवाद छैन । समाजवादीको केन्द्रीय उपाध्यक्षसमेत रहेका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे संघीय संसदमा गएसँगै प्रदेशमा उनीपछिका नेता कृष्णप्रसाद शर्मा खनालले अवसर पाउने भएका छन् ।
पहिलो कार्यकालमा दलको उपनेता रहेका खनाल आन्तरिक मामिला तथा कानुनमन्त्री समेत थिए। पाण्डे संघमा गएसँगै समाजवादीको संसदीय दलको नेता खनाल बन्ने पक्का देखिएको छ। उनीबाहेक अरुले दलको नेतामा दाबी नगरेको हुँदा उनी नै दलको नेता बन्ने पक्काजस्तै देखिएको हो।
खनालले समाजवादीबाट बागमती प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन्। गठबन्धनमा भागबण्डा मिलाउँदै जाँदा बागमती प्रदेश समाजवादीले पाएको खण्डमा मुख्यमन्त्रीमा आफ्नो दाबी रहने उनको भनाई छ।
सरकार गठन गर्न गठबन्धनकै बहुमत
बागमती प्रदेशमा सत्ता गठबन्धनसँग सरकार बनाउन सुविधाजनक बहुमत छ। १ सय १० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सिट आवश्यक पर्छ।
यहाँ कांग्रेससँग ३७, माओवादी केन्द्रसँग २१ र एकीकृत समाजवादीसँग ७ गरी ६५ जना सांसद छन्। यहाँ एमालेसँग २७, राप्रपासँग १३, नेमकिपासँग ३ र हाम्रो पार्टीसँग २ सांसद छन्।
वर्तमान अवस्थामा सत्ता गठबन्धनसँग सरकार गठनका लागि पर्याप्त बहुमत रहेको छ। ६५ सांसदको समर्थनमा बागमती प्रदेशमा सत्ता गठबन्धनको नेतृत्वमा नै सरकार बन्ने देखिन्छ।
थाहा खबरबाट












प्रतिक्रिया दिनुहोस्