हेटाैडा । माओवादी केन्द्रको बागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जमरकटेलको नाम चयन भएको छ । शनिबार काठमाडौंको एक पाटी प्यालेसमा भएको छलफलमा दलको नेतामा जमरकटेलको नाम अघि सारिएको प्रदेश सांसद  कुमारी मोक्तानले जानकारी दिइन् ।  संसदीय दलको नेतामा जमरकटेलको नाम प्रस्तुत भएपछि सरल सहयात्री बैठक कक्ष छोडेर बाहिरिएका छन् ।

दलको नेतामा अर्का प्रदेश सांसद सहयात्रीले पनि दावी गरेका थिए ।  संसदीय दलको नेता बनाउन चुनाव नगर्ने, सर्वसहमतिबाट टुङ्गो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका थिए । प्रचण्डको निर्देशनपनि सहमति जुटाउनका लागि माओवादी नेताहरू हितमान शाक्य, नारायण दाहाल लगायत खटिएका थिए ।

निर्वाचनबाट संसदीय दलको नेता चयनको माग गर्दै आएका प्रदेश सांसद सहयात्रीले पार्टीको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सहमतिको नाममा जमरकटेललाई दलको नेता बनाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन् ।

उनले भनेका छन्– ‘गेम जितिने स्वस्थ प्रतिस्पर्धाले हो । छिर्के लगाएर पनि गेम त जितिन्छ तर मन जितिँदैन । जबसम्म मन जितिँदैन केहीपनि जितिँदैन । म हरेकपटक छिर्के लगाएर लडाइए पनि धुलो टक्टक्याउँदै कुदिरहेको धावक हुँ ।’ सांसद सहयात्री सिन्धुपाल्चोकबाट निर्वाचित भएका थिए । राताेपाटीबाट