जीवनको करीब ३ दशक भन्दा बढी समय यस पार्टीमा बिताईयो । जतिखेर राजनीतिक चेतनाको विकास यो मनमा भित्रियो त्यो समय देखि आज सम्म निरधक्क भएर पार्टीको विचार, आस्था र भरोशामा हिडियो । राजनीतिक जीवनमा कैयौ उकाली ओरालीहरु देखा परे तर कहिल्यै पनि धकाईको महसुस गरिएन । देश र जनताको उज्जल भविश्य निर्माणमा एकाकार भई निस्वार्थभावले सदैभ आफुले भ्याएसम्मको सहयोग गरिंदै आइयो । विद्यार्थीकाल देखि राष्ट्रिय जनसांकृतिक मञ्च (हाल राष्ट्रिय जनसांकृतिक महासंघ) मा आबद्ध भई पार्टीको जागरण अभियानमा लामो समय बिताइयो ।

नेकपाको एकता प्रकृयालाई आत्मसात गर्दै नयाँ पुस्तालाई जिम्मेवारी दिएर केही समय पार्टी भन्दा बाहिर रहेर पनि पार्टी हितमा सदैभ लागियो । झनै केपी ओली पहिलो पटक प्रधानमन्त्री भए पछि राष्ट्रियताको सवालमा आम नेता कार्यकर्ता तथा जनताहरु एमालेको भरोसामा उभिएको अवस्था हो । त्यहि क्रेज वा ओलीको नेतृत्वमा पार्टी एकिकृत हुने भए पछि जनताले देखाएको उल्लासमय समर्थनबाट करीब २ तिहाईको सरकारको नेतृत्व गरी बनेको सरकारले देखाएको आम जनताको सपना, नेपालको नक्साबाट हराएको कालापानी, लिपुलेक,लिम्पियाधुरा नेपालको नक्सामा सामेल गरी जनताको शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विकास निर्माणका कामलाई तिब्रता दिन थालेपछि केपी ओलीको हाइट उच्च दरमा बृद्धि भएको यथार्थ हो । झनै नेपाललाई विकसित राष्ट्रमा स्तरोन्नति गर्न समृद्ध नेपाल सुखी नेपाली भन्ने राष्ट्रिय आकांक्षा अगाडि सारे पछि आफ्नो पार्टीको मात्र होइन अन्य पार्टीमा रहेका नेताकार्यकर्ताहरुको समेत ध्यान एमाले तिर डाइभर्ट हुन पुग्यो । यस्तै अविश्मरणीय कार्यले नेकपा एमालेको स्थान उच्च रहेको र यसो हुनुको मुख्य कारण केपी ओली नै हो भन्ने आम मानिसको बुझई रहेको छ ।

तर विडम्बना, एक थरी मानिसहरु पार्टीमा लागेर कमाउ धन्दामा लाग्न खोज्ने गिरोहहरु भित्र भित्र सक्रिय हुन थाले भने अर्काथरी पानी धमिलो पारेर माछा मार्ने काममा अव्यस्थ हुनथाले । फलस्वरुप २ तिहाई नजिकको सरकार केन्द्रदेखि प्रदेशसम्म निमित्यान्न पारे । त्यतिले पनि पुगेन केपी ओलीको छविलाई देखाएर पार्टी भित्र गुटबन्दी गर्ने, केपी ओलीको विरोधी भन्ने, बामदेब गौतम, माधव नेपाल गएर केही भएन तिमीहरु नभएर केही फरक पर्दैन भन्ने जस्ता व्यवहारहरु देखाएको हुनाले केपी बा को गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । कसैलाई भोलि सांसद टिकट नपाइएला भन्ने चिन्ता, कसैलाई स्थानीय निर्वाचनमा टिकट नपाइएला भन्ने चिन्ता त कसैलाई पार्टी विग्रिएला कि भन्ने चिन्ता भने कसैलाई मैले नेतृत्व लिन पाए पार्टीलाई योगदान दिन सक्थें भन्ने महत्वकांक्षाका वीच अधिवेशन हुँदा यस प्रकारका व्यवहार मकवानपुर जिल्लाको जिल्ला अधिवेशनमा देखा परे । सहमति सहकार्य सबैको चाहना र आजको आवश्यकता पनि हो । सबैले बुझेका छन् । यसै अनुरुप अधिकांश भुगोल समुदायबाट उमेदवारहरु निर्विरोध पनि भए । पदाधिकारी तथा खुल्ला तर्फको केही उमेदवारहरु बीच सहमति हुन नसक्दा स्वस्थ प्रतिस्पर्धा अनुरुप निर्वाचनमा जानु पार्टी विधान र प्रजातन्त्रको सुन्दर पक्ष हो । निर्वाचनमा हार जित जे भए पनि स्वीकार गर्नु सबै उमेदवार तथा मतदाताहरुको कर्तब्य हुन्छ ।

तर मतदानको नाटक मन्चन पनि गर्ने तर एकाएक प्रतिस्पर्धामा रहेका उमेदवारहरु वीच कुनै सहमति नभई र निर्वाचन प्रकृया पनि अघि नबढाई हुकुमी शैलीमा घोषणा सभा गरी जिल्ला कार्य समिति चयन हुन गएकोमा सबैको आपति रहेको छ । सबै उमेदवारहरु हाम्रा आदर्णीय नेता हुन् । को आए र को गए संग पनि विमति रहेन तर यस्ता गलत क्रियाकलापले पार्टीको भविश्य के हुन्छ ? भन्ने अध्यक्षज्यु समक्ष चिन्ता जाहेर गर्दछु ।

–उही तपाईलाई केपी बा भन्ने श्यामकल श्रेष्ठ, हेटौंडा

श्यामकल श्रेष्ठ
थप जानकारी