हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चेपाङ संरक्षित क्षेत्रको तयारीमा रहेको बताएका छन । उनले चेपाङ संरक्षित क्षेत्रका लागि प्रदेश सरकारले अध्ययन टोली बनाएर काम थालिसकेको जानकारी दिए । राक्सिराङ गाउँपालिकाको चैनपुरमा सोमवार भएको गाउँसभाको पन्ध्रौ (हिउँदे) अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

मकवानपुरको राक्सिराङ, चितवनको इच्छाकामना, कालिका, राप्ती र धादिङको बेनिघाट रोराङ र गजुरीमा चेपाङ संरक्षित क्षेत्र सुरु गर्न लागिएको मुख्यमन्त्रीले बताए । चेपाङ समुदायको विकासको लागि बागमती प्रदेश सरकार लागि रहेको बताउँदै उहाँले चेपाङ, चिउरी, चमेरो संरक्षण कार्यक्रम अगाडि बढाएको जानकारी दिए ।

प्रदेश सरकारले गृहणी महिला, युवा लक्षित र किसान लक्षित कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । उनले समयमै काम नगर्ने ठेकेदार कम्पनीको सम्झौंता रद्द गरेको बताउँदै विकास निर्माणको बिषयमा प्रदेश सरकार दृढपूर्वक अगाडि बढेको स्पष्ट पारे । राक्सिराङको चैनपुर भएर मलेखु जाने बाटो महत्वपूर्ण रुट रहेकाले माघभित्रै यसलाई अगाडि बढाउने बताए ।

गणतन्त्र विरोधी शक्ति सलबलाएको बताउँदै प्रदेश चाहिदैन भनेर आवाज निकाल्न थालेकाले सबै राजनीतिक दलहरु सजग हुनुपर्ने उनको धारणा छ । निराश हुनुपर्ने जरुरी नरहेको जिकिर गर्दै जनताको बिचमा गएर राजनीतिक दलले आशा लाग्दा कुरा गर्नु उहाँले सुझाव पनि दिए ।

सधैं थला परेको आयल निगम फाइदामा गएको बताउँदै उहाँले पछिल्लो समय विद्युत बेचेर पनि अरबौं आएको बताउँदै आशावादी भएर काम गर्नुपर्नेमा जोड दिए ।

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका सचेतक महेश बर्तौला, नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ लगायतकाले बोलेका थिए ।