हेटौंडा । मकवानपुर, बारा र सर्लाही जिल्लाका मोतियाबिन्दु भएका दुइसय पचासजना बिरामीको आँखाको शल्यक्रिया हेटौँडामा गरिएको छ । तीनै जिल्लामा तीन दिन भएको निःशुल्क शिविरमा मोतियाबिन्दु रोगीका विरामीको हेटौँडा सामुदायिक आँखा अस्पतालमा बिहीवार र शुक्रवार निःशुल्क शल्यक्रिया गरिएको हो ।

आँखा शिविरमा एकहजार छ सय सत्र जनाको निःशुल्क परीक्षण गरिएको थियो । शिविरमा उपचार सेवा लिन आएका मध्य मोतियाबिन्दु पहिचान भएका २५० मध्ये १४२ जनाको बिहीवारै आँखाको निःशुल्क शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पश्चात उहाँहरु डिस्चार्ज भएर घर फर्कनु भएको छ । त्यस्तै बाँकी बिरामीको शुक्रवार शल्यक्रिया गरिएको छ ।

मोतियाबिन्दुको शल्यक्रिया पश्चात आँखा प्रष्ट देख्न थालेपछि बारा सिमराकी ६९ बर्षिया सोनादेबीले खुसी भइन । आँखा उपचारकालागि अस्पताल जान सक्ने अवस्था नहँुदा घर नजिकै शिविर चलाई निःशुल्क उपचार गरिदिएकोमा शिविर सञ्चालन गर्ने संस्थाहरुलाई उनले धन्यवाद दिइन् ।

मकवानपुर जिल्लाको शिखरकटेरी, पाथिभरा, बुढीचौर, राईगाउँ, बागमती र छिमेकी जिल्ला बाराको इन्नरवासिरा, हरिपुर, हल्खोरिया, हरपुर र सर्लाही जिल्लाको रामनगरमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो । लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल र हिमालय कट्रयाक प्रोजेक्टको संयुक्त आयोजना तथा हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा माघ २० गतेदेखि २३ गतेसम्म निःशुल्क आँखा शिविर सञ्चालन भएको थियो ।

राज कुमार के.सी.
थप जानकारी