हेटौंडा । पर्यटकीय क्षेत्र थाहा नगरपालिकाको अवलोकन भ्रमणका लागि आन्तरिक पर्यटकहरुको आगमन बढेको छ । स्थानीय युवाहरुको सक्रियतामा पैदलयात्राको रुट तयार गरेर प्रचारप्रसार गरेपछि उक्त रुटमा पैदल यात्रा गर्नेहरुको आकर्षण बढेको छ ।

केही समय अगाडिको पालुङ–आग्रा पदयात्रामा करिव ७ सय बढीले यात्रा गरिसकेकाछन् । यसैक्रममा माघ २७ गते शनिबारमात्रै थाहा नगरका युवा फोटो पत्रकार गणेश बिष्ट र स्थानीय शिक्षक निराजन गोपालीको सक्रियतामा थाहा नगरको आकर्षणको रुपमा रहेको प्राचिन कुन्छाल गाउँलाई केन्द्र बनाई तय गरेको नयाँ पदमार्गमा काठमाण्डौका ह्याप्पी हाईकर्स र स्थानीयहरु सहित ३२ जनाले यात्रा गरे ।

थाहा नगरका फोटो पत्रकार बिष्ट यो पदमार्ग पर्यटकहरुका लागि फरक अनुभूति बटुल्ने यात्रा बन्न सक्ने बताए । बिष्टले भने–“ऐतिहासिक गाउँको अवलोकन, धार्मिक सम्पदाको दर्शन, कृषकहरुसँगको सामिप्यता, पौराणिक तथा मैलिक बस्ती र जीवनशैलीको अवलोकन, प्राचिन गाउँको भ्रमण तथा प्रकृतिलाई नजिकबाट अनुभुति गर्नको लागि यो पदमार्ग निकै उपयुक्त छ ।”

करिब ३०० वर्ष पुरानो कुन्छाल नेपालको एक ऐतिहासिक, प्राचिन गाउँ हो । कुन्छालको स्थानीय नाम भने कुंछा हो । कुन्छाल गाउँमा भने केवल ग्वाला समुदाय अर्थात गोपाली भन्न रुचाउने गोपालवंशीहरुको मात्र बसाई रहेको छ । गोपालीगाउँ कै नामबाट समेत परिचित रहेको यस बस्तीलाई हेर्दा नेपालको प्राचिन इतिहासका यथेष्ट आधारहरु देख्न सकिने ह्याप्पी हाईकर्सका राजाराम फुयाँलले बताए । उनका अनुसार ऐतिहासिक, प्राचिन तथा साँस्कृतिक महत्व बोकेको यो वस्तीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने ठुलो सम्भावना रहेकोछ ।

परम्परागत रुपमा बस्तीको विकास गरेर एउटा जीवित संग्रहालयको रुपमा विकास गर्दै यहाँको ऐतिहासिक स्वरुपलाई निरन्तरता दिने हो भने पर्यटक आकर्षणको केन्द्र बन्नसक्ने फुँयालले बताए ।

कसरी गर्न सकिन्छ पदयात्रा ?
थाहा नगरपालिकाको वडा नं. १ र ६ मा पर्ने टिष्टुङ–कुन्छाल पदमार्गमा यात्रा गर्नको लागि राजधानी काठमाण्डौबाट गणेशमानसिंह मार्ग चन्द्रागिरी–चितलाङ हुँदै करिव १ घण्टामा पुग्न सकिन्छ । त्यस्तै बागमती प्रदेशको राजधानी हेटौंडाबाट त्रिभुवन राजपथ हँुदै करिव ३ घण्टामा पुग्न सकिन्छ ।

टिष्टुङ–कुन्छाल पदमार्गमा यात्रा गर्न कुन्छाल गाउँबाटै वा नजिकैको सरस्वती बजारबाट शुरु गर्न सकिन्छ । बज्रवाराहीको सरस्वती बजारबाट वाराहीचौर हुँदै नासपाति बगैँचा भ्रमण, कुन्छाल गाउँ अवलोकन र गणेश मन्दिर दर्शन पश्चात् टिष्टुङको बनस्पति उद्यानमा पुग्न सकिन्छ । उद्यानबाट विश्रामसहित ग्रामिण क्षेत्रको जीवनशैली र प्रकृतिको मनोरमताको अवलोकन गर्न सकिन्छ ।

वनस्पती उद्यानबाट कार्कीछाप गाउँको दैनिकी किसानको जीवनशैली, गोठालाको अनुभव, प्राकृतिक मनोरम, खेतीपातीको अवलोकन गर्दै गौखुरेश्वर महादेवको दर्शन यहि रुटमा गर्न सकिन्छ ।

ढल्टगाउँको अवलोकन गरेपछि अध्याय रिसोर्ट हुँदै उन्मत्तेश्वर महादेवको मन्दिर दर्शन गरी कोत दरबारको अवलोकन पश्चात थाहानगरकै प्रमुख शक्तिपिठको रुपमा रहेको वाराही मन्दिर र संगैको चौरबाट पैदल जंगल सफारीसंगै पैदलमार्गमा प्रकृति र पाहुनाको लुकामारी गर्न सकिन्छ ।

वाराही मन्दिरबाट उकालो लागेर पुगिने वाराही डाँडामा पुग्दा यात्राका सबै थकान मेटिएको अनुभव हुन्छ । निकै मनोरञ्जनात्मक र साहसी पैदल यात्री जस्तै अनुभव गर्न सकिने यस मार्गको दुरी करिब १६ किलोमिटर रहेको छ ।वाराही डाँडाबाट पुनः जंगल सफारीसंगै नन्दिकेश्वर महादेव दर्शन गरेर यो पदयात्राको बिट मारिन्छ ।

स्थानीयहरुको आत्मिय ब्यवहार र स्वागत सहितको पैदलयात्रासंगै केहीदिनको भ्रमणका लागि बस्नको लागि पनि थाहानगरको बज्रबाराहीमा हेटलहरुको राम्रो ब्यवस्था भएको र कुन्छालमै रहेका होमस्टेमा पनि बस्न सकिनेछ ।
(तस्विरहरु: गणेश बिष्ट)

राज कुमार के.सी.
थप जानकारी