हेटौंडा । नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले विद्युतीय सुरक्षा दिवस–२०८० को अवसरमा प्रभातफेरी गरेको छ । 

सोमबार पालुङ वितरण केन्द्रले विद्युत सुरक्षा सम्बन्धी सचेतना जगाउने प्लेकार्ड सहित प्रभातफेरी रयाली केन्द्रको कार्यालय दोबाटोबाट सुरु गरि थानाबजार दोबाटो लागायतका बजार परिक्रमा गरि सभामा परिणत भएको थियो ।

विद्युतीय सुरक्षा दिवसका अवसरमा रयाली पश्चातको सभालाई सम्बोधन गर्दै वितरण केन्द्र प्रमुख माधव न्यौपानेले विद्युतीय दुर्घटनाबाट बच्न गुणस्तरीय बिद्युतीय उपकरणको प्रयोगसँगै सुरक्षाका उपकरण अवलम्बन गरी विद्युतीय सुरक्षामा ध्यान दिई सेवा प्रदान गर्न कर्मचारीहरूलाई आग्रह गरे ।

विद्युतीय दुर्घटना न्यूनिकरणका लागि जनचेतना फैल्याउन तथा सुरक्षित विद्युत सेवाको सहज पहुँच, गुणस्तरीय सामानको प्रयोग र किफायती उपभोग एवं चुहावट नियन्त्रणका लागि उपभोक्तामा सचेतना र जागरुकता सञ्चार गरी विद्युत दुर्घटनामा कमी ल्याउन विद्युतीय सुरक्षा दिवस मनाइएको पालुङ वितरण केन्द्रका प्रमुख न्यौपानेले बताए । 

विद्युत प्राधिकरणको काम तथा सेवा जोखिमपूर्ण रहेकोले सो अवस्थामा आफू सुरक्षित भई भरपर्दो सेवामा लाग्न आम कर्मचारीहरूलाई निर्देशन दिँदै सुरक्षा चुनौतीका रुपमा रहेका पुराना काठको पोलहरू विस्थापन गरि स्टिल पोल राख्ने अभियानमा प्राधिकरण लागेकोले जीर्ण, पोल नाङ्गो तार र लाइन सामाग्री फेर्ने, सुरक्षात्मक प्रणाली सुधारका लागि पुराना संरचनाको स्तरोन्नति गर्ने, ट्रान्सफरमरको क्षमता वृद्धि गर्ने, कन्डक्टरको क्षमता वृद्धि गर्ने, इन्सुलेटर कन्डक्टरको प्रयोग गर्ने लगायतका कामहरू निरन्तर रुपमा अगाडि बढाइएको पनि प्रमुख न्यौपानेले बताए । 

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र अन्तरगतका कर्मचारीहरूको सहभागिता रहेको र्यालीमा “विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, समृद्धिको लागी विद्युतको सदुपयोग गरौँ ।” प्रलोभनमा नपरौं, विद्युतको सुरक्षित उपयोग गरौँ ।” “विद्युत दुर्घटनाबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ ।” लगायतका चेतनामूलक नारा लेखिएको प्लेकार्ड बोकिएको थियो । नेपाल विद्युत प्राधिकरणले हरेक वर्ष चैत्र २६ गते विद्युतीय सुरक्षा दिवस मनाउँदै आएको छ ।    

राज कुमार के.सी.
थप जानकारी