हेटौंडा । बागमती प्रदेशका युवालाई सशक्तीकरण गर्दै सिर्जनशील र उद्यमशील बनाउने लक्ष्य सहित हेटौँडामा प्रदेश युवा सम्मेलन हुने भएको छ । बागमती प्रदेश युवा परिषद्ले दोश्रो प्रदेश युवा सम्मेलन आयोजना गर्न लागेको हो । यही बैशाख २८, २९ र ३० गते प्रदेशका १३ जिल्लाका युवाको सहभागितामा युवा सम्मेलन हुनेछ ।

सम्मेलनमा २ सय भन्दा बढी १६ वर्षदेखि ३० वर्ष उमेर समूहका युवाको सहभागिता हुनेछ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्रगतको प्रदेश युवा परिषद्को वार्षिक कार्यक्रम अन्र्तगत प्रदेश युवा सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा सहभागि युवालाई अनलाइन मार्फत फारम भराएर सहभागि गराइँदैछ ।

सम्मेलनमा सहभागी समावेशी अवधारणामा छनोट गरिने छ । प्रदेश युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाइँले युवालाई अवसर र प्रदेशको राजधानीसँग जोड्न सम्मेलनले भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रदेश सरकारले युवाको वृहत हितका लागि सम्मेलन गरेको बताउँदै युवा प्रदेश नीतिका विषय, एआइ, साइबर अपराध लगायतका विषयमा पनि छलफल गरिने उहाँको भनाई छ । यो वर्ष प्रदेश सरकारले नीति तथा कार्यक्रममै राखेर युवालाई थप प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।

प्रदेश युवा सम्मेलनमा युवा सँग मुख्यमन्त्री कार्यक्रम, सरोकारवाला बिच बहस, सहभागि बिच अन्तरक्रिया र सञ्जाल निर्माण, सांस्कृतिक कार्यक्रम हुनेछ । सम्मेलनमा कलाकार राजेश हमाल, पत्रकार टिकाराम यात्री र विश्वनाथ कोइराला लगायतकाको सहभागिता रहने आयोजकले जनाएको छ । सिर्जनशीलता र उद्यमशीलता प्रवद्र्धन बागमतीमा युवा सशक्तीकरण भन्ने मुल नाराका साथ हुने सम्मेलनमा सहभागीलाई पर्यटकीय क्षेत्रको भ्रमण समेत गराइने छ ।

तीन दिनसम्म चल्ने कार्यक्रमका लागि १५ लाख बजेट बिनियोजन गरिएको छ । कार्यक्रमका लागि २७ गते सहभागीहरू हेटौँडा आइपुग्ने आयोजकले जनाएको छ । ११ बुँदे घोषणा पत्र जारी गर्दै पहिलो युवा सम्मेलन सकिएको थियो भने ७ वटा बुँदा बागमती प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको छ ।